बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन कृषिमन्त्रीको आग्रह

नेपालगन्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको मंगलबार निरीक्षण गर्दै उनले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले भने, ‘कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्ने किसानका अभिभावक हुन्, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुहोस् र किसानलाई प्रविधिसँग जोड्न सहजीकरण गर्नुस् ।’

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयास गरेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गरे । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा.समीद अहमदले हाल २ स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिए । निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९–०८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ ।

अनुदानको सदुपयोग होस्

कृषिमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा मंगलबार कोहलपुरमा आयोजित ‘एकदिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न ३ सदस्यीय समिति बनाइएको जानकारीसमेत दिए । समितिले छिटै अध्ययान सक्ने र अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिने मन्त्री अधिकारीले वताए । कृषि अनुदानको सही सदुपयोग होस् भन्ने आफ्नो चाहना रहेकोमा मन्त्री अधिकारीले जोड दिए ।

प्रतिक्रिया