काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेशबीच आज बुधबार फाइनल खेल हुँदै छ । साँझ ६ बजे काठमाडौँस्थित दशरथ रंगशालमा हुने खेलमा नेपाल ५ वर्षअघिको बदला लिएर इतिहास रच्ने दाउमा छ भने बंगलादेश नतिजा दोहोर्याउने ध्याउन्नमा । नेपाल र बंगलादेशले आइतबार भएका फरक–फरक सेमिफाइनल खेल जित्दै फाइनल भेट पक्का गरेका हुन् । यसअघि सन् २०२२ मा काठमाडौँमै भएको साफमा पनि यी २ टोली भिडेका थिए । सो संस्करणमा नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।
सन् २०१० मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदको पहिलो चरणमा भारतसँग ५–० गोलअन्तरले पराजित नेपाल फाइनलमा सोही भारतसँग ३–१ ले पराजित भएको थियो । खेलको अधिक समय १–० को अग्रता कायम राखेको नेपाल अन्तिम समयमा चुकेको थियो । त्यसयता नेपाल बारम्बार उपाधिको एकदम नजिकै पुगेर पनि चुक्दै आएको छ । साफ च्याम्पियनसिप, साफ खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत गरी १४ वर्षमा ११ वटा खेलमा फाइनल प्रवेश नेपालका लागि उपलब्धिमूलक भए पनि उपाधि भने एक पटक पनि जित्न सकेको छैन ।
यस पटक भने नेपाल फेरि उपाधि नजिक पुगेको छ । यस पटक उपाधि जित्ने विश्वास नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापोको छ । सेमिफाइनलमा पनि घरेलु दर्शकको साथ र उत्साह जितको मुख्य आधार बनेको बताउँदै प्रशिक्षक र कप्तान दुवैले फाइनलमा पनि सोही साथको अपेक्षा गरेका छन् ।
सातौँ संस्करणको च्याम्पियनसिपको आइतबारको पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोलअन्तरले हराएर फाइनलमा स्थान बनाएको हो । घरेलु टोली नेपालले भने तनावग्रस्त सेमिफाइनलमा ५ पटकको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनल पुगेको हो ।
साफ च्याम्पियनसिपमा नेपाल समग्रमा छैटौँ पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेका हुन् । लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यस पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।
पहिलो पटक सन् २०१० मा ढाकामा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपाललाई १–० ले हराउँदै भारतले उपाधि जितेको थियो । सन् २०१२ मा श्रीलंकामा भएको प्रतियोगिताको फाइनलमा पनि भारतले नेपाललाई ३–१ ले हराएको थियो । यस्तै, सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा भारतले नेपाललाई ६–० ले हराएको थियो । सन् २०१६ मा भारतमा भएको च्याम्पियनसिपमा भने नेपाल फाइनल प्रवेशबाट चुकेको थियो । सो वर्ष फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हराउँदै उपाधि चुमेको थियो । यस्तै, सन् २०१९ नेपालमा भएको प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो भने सन् २०२२ मा बंगलादेशले नेपाललाई सोही गोल अन्तरले हराएको हो ।
साफ च्याम्पियनसिपको इतिहास हेर्दा भारतीय फरवार्ड बालादेवी सबैभन्दा सफल खेलाडी हुन् । लामो समय उनको दबदबा भारतीय महिला राष्ट्रिय टोलीमा कायम थियो । उनी सन् २०१४ मा १६ गोल गर्दै शीर्ष गोलकर्ता भएकी थिइन् । एउटै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नाममा उनको कीर्तिमान अझै कायम छ ।
यसैगरी नेपालकी जमुना गुरुङ सन् २०१२ मा शीर्ष गोलकर्ता भएकी थिइन् । सन् २०१६ मा नेपालकी सावित्रा भण्डारीले १२ गोल गरेकी थिइन् । सन् २०१९ मा उनी र भारतकी इन्दुमती काथीसेरनले ४ गोल गरेका थिए ।
बालादेवीसँगै लामो समय प्रभाव राख्ने खेलाडी सावित्रा र बंगलादेशका सविना खातुन हुन् । खातुन सन् २०१४ मा उत्कृष्ट खेलाडी भएकी थिइन् । पछिल्लो संस्करणमा उनी उत्कृष्ट खेलाडी र शीर्ष गोलकर्ता भएकी थिइन् ।
अनलाइन टिकट बन्द, बुधबार मात्र टिकट किन्न पाइने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार दिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिसँगको टेन्डर रद्द गर्दै आफैँ टिकट बिक्री गर्ने भएको छ । एन्फाले बुधबार बिहान ४ स्थानबाट टिकट बिक्री गरिने बताएको छ ।
जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ । जसमा साधारणतर्फ ५०० दरका १० हजार थान र भिआइपीतर्फ १ हजार दरका १ हजार थान गरी कुल ११ हजार थान टिकट बिक्री गरिने एन्फाको भनाइ छ ।
यसअघि फाइनलका लागि अनलाइबाट साधारणतर्फ ४१०० थान र भिआइपीतर्फ १ हजार थानभन्दा बढी टिकट बिक्री भइसकेको थियो । सो टिकटको रकम अब फिर्ता गरिने भएको छ ।
खेल रोकेकामा भारतले उजुरी गर्ने
भारतीय फुटबल संघ (एआइएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले १ घन्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ । खेल भएको भोलिपल्ट एआइएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतबार साँझ भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि १ घन्टाभन्दा बढी रोकिएको थियो । रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा पानीका बोतल प्रहार गरेका थिए । विवाद साम्य भएपछि पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्याएको थियो । त्यसपछि नेपाल टाइब्रेकरमा ४–२ गोलले विजयी भएर फाइनल यात्रा तय गरेको हो ।
खेल रोकिनुअघि भारत १–० गोलले अगाडि थियो भने नेपाल १० खेलाडीमा सीमित थियो । भारतीय फुटबल संघले नेपाल मात्र होइन, खेललाई नियन्त्रण गर्न नसकेकामा रेफ्रीविरुद्ध पनि उजुरी गर्ने बताएको छ । भारतीय फुटबल संघले जारी गरेको विज्ञप्तिमा यू–१९ महिला फुटबलको खेलमा पनि सोही प्रकृतिको घटना भएका कारण यस्तो प्रवृत्तिले दक्षिण एसियाली फुटबलको विकासमा नै बाधा पुग्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया