काठमाडौं । घरेले मैदानमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै ४ गोल हानेर दोब्बर अग्रता बनाएको छ । सुरुवाती मिनेटदेखि आक्रमणमा उत्रेको नेपालले पहिलो हाफमै श्रीलंकालाई दबाबमा राखेको छ ।
सावित्रा भण्डारी (साम्बा) ले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छन् । उनले नेपालले गरेको ४ गोलमा १ गोल र २ असिस्ट दिएकी छन् । रेखा पौडेल र सविता राना मगरले १–१ गोल गरेका छन् ।
खेलको आठौँ मिनेटमा सविताको गोलमा नेपालले अग्रता लिएको हो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्रभित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।
११औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट राम्रो गोल गरिन् ।
१३औँ मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।
त्यसैगरी ३७औँ मिनेटमा नेपालले ४–० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।
समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । समूह ‘ए’ बाट बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने भारत भने उपविजेता बनेको छ ।
प्रतिक्रिया