नवीन राष्ट्रिय टोलीका प्रशिक्षक

काठमाडौँ । नवीन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नवीन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् । प्रशिक्षण टिमका तीनै जनालाई अन्तरिम रूपमा जिम्मेवारी दिइएको र उनीहरूले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउनेछन् ।

नवीनको खेलाडीको रूपमा उदय सन् २००० मा काठमाडौँमा भएको एएफसी यु–१७ छनोट खेलमार्फत भएको थियो । सो समयमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले एसियाली स्तरको प्रतियोगितामा छनोट भएर कीर्तिमानी यात्रा तय गरेको नेपाली टोलीका धेरै खेलाडी अहिले पनि फुटबलको दुनियाँमा सक्रिय छन् । मैदानमा चुस्त खेल र सही नेतृत्वका कारण सवैका प्रिय बनेका सोही टोलीका कप्तान नवीन न्यौपाने २ दशकपछि भिन्न भूमिकामा नेपाली फुटबलमा छाएका हुन् ।

नेपाल आर्मी क्लबलाई एकपछि अर्को उपाधि दिलाएका नवीन पछिल्लो समय फ्रेन्चाइजमा पनि छाए । पोखरा थन्डर्सका प्रशिक्षक नबिनले पहिलो सिजन त टोलीलाई सफलता दिलाउन सकेनन्, दोस्रो सिजन उपाधि विजेता बनेको थियो ।

२०५७ सालको समयमा नेपाली फुटबलमा ओभरल्याप, टिमका अन्य खेलाडीसँगको समन्वय र पिन प्वाइन्ट क्रसका कारण दायाँ रक्षक र दायाँ विंगरको भूमिकामा उत्तिकै छाएका नवीनको साथमा पोखराको टोलीमा त्यसै समय नेपाली फुटबलमा फास्ट फुटबलरको भिन्न छवि बनाएका राजेश शाही पनि पहिलो सिजनमा पोखरामा थिए ।

नवीनले खेलाडीको रूपमा २०५४ सालकै लिगदेखि पाइला टेकेका थिए । उनी त्यही नक्साल युवा मण्डलका खेलाडी थिए, जुन टोलीसँगको हारका कारण २०५४ सालमा मनाङ–मस्याङ्दी क्लब(एमएमसी)को उपाधि यात्रामा पछाडि धकेलिएको थियो । त्यसै मनाङ–मस्र्याङ्दी नवीन सन् २००० देखि आबद्ध भए ।

नवीनका लागि एमएमसीको सुरुआती यात्रामा कम चुनौती थिएन । दीपक लामा, कुमार थापा, राजेश शाही र वसन्त गौचन सहितको मध्यपंक्ति भएको टोलीमा उनको स्थान नै कठिन मानिन्थ्यो । उनको मिहिनेत र केही संयोगका कारण नवीन टोलीका महत्वपूर्ण खेलाडी मात्र भएनन् छोटो समयमा नेपाली राष्ट्रिय टोलीमा अटाउन सफल भए । त्यसो त केही समयपछि एमएमसीको रक्षापंक्तिमा ठुलो खाडल परेपछि यसलाई पुर्ने काममा पनि नवीनको उपयोग गरियो । यो नयाँ जिम्मेवारी पूरा गर्दै दायाँ रक्षक बनेको नवीन राष्ट्रिय टोलीमा समेत दुवै भूमिकाका लागि उपयुक्त खेलाडीको रूपमा देखिएका थिए ।

विनोद डंगोल, वसन्त गौचन, उमेश उप्रेती र अनिल गुरुङको साथमा नवीन न्यौपाने सन् २००२ को ओलम्पिक छनोट खेल खेलेका नवीन सन् २००३ मा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा अटाए । सन् २००५ मा यसको अर्को संस्करण हुनु अगावै सन् २००४ मा उनले पाकिस्तानमा भएको साग खेलमा नेपाली टोलीको नेतृत्व गरे । सन् २००३ मा नेफा ओमन र कोरियामा भएको एसियाली च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीमा पनि उनी समावेश थिए । सन् २०१० मै नेपाल र ओमानमा भएको विश्वकप छनोट खेल खेलेका नवीनले क्लब फुटबलमा सफलता पाएपछि सन् २००३ मा मलेसिया र सन् २००८ मा बंगलादेशमा भएको प्रेसिडेन्ट कपमा सहभागिता जनाए । सन् २०००, २००२, २०१३ र २०१४ मा भुटानमा भएको किङ्स कपमा उनको उपस्थिति थियो ।

प्रशिक्षकको रूपमा एमएमसीमा लामो समय बिताएका उनले सन् २०१३ मा मंगोलिया र श्रीलंकामा भएको प्रेसिडेन्ट कपमा पनि एमएमसीको प्रतिनिधित्व गरेका थिए । सौर्य दैनिकसँग कुराकानी गर्दै राष्ट्रिय टोलीको जिम्मेवारी अहिलेको चाडको समय दुवै कारण चुनौतीपूर्ण भए पनि यसलाई स्वीकार गरेको बताए ।

प्रतिक्रिया