नयाँदिल्ली । न्युजिल्यान्ड विरुद्धको बैंगलोर टेस्टको पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको छ । यो घरेलु मैदानमा भारतको सबैभन्दा सानो स्कोर हो । सन् १९८७ मा वेस्ट इन्डिजविरुद्धको दिल्ली टेस्टमा टोली ७५ रनमा अलआउट भएको थियो ।
बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बिहीबार भएको खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजे तर न्युजिल्यान्डका फास्ट बलरले रोहितको निर्णयलाई गलत सावित गरे । स्विङ र बाउन्सी पिचमा भारतीय ब्याट्सम्यानले आफूलाई सम्हाल्न सकेनन् ।
ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने यशस्वी जैसवालले मात्र १३ रन बनाउन सके । कप्तान रोहित शर्मा (२ रन) टिम साउथीबाट बोल्ड भए । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता पनि खोल्न सकेनन् ।
न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम ओउरकेले ४ विकेट लिए । अहिले दोस्रो सत्रको खेल चलिरहेको छ ।
भारतको कम योगफल एसियाली भूमिमा भएको टेस्टमा सबैभन्दा कम योगफलसमेत हो । यसअघि सन् १९८६ मा वेस्टइन्डिज फेसलावादमा पाकिस्तानसँग भएको खेलमा ५३ रनमा अलआउट भएको थियो । सन् २००२ मा सारहजहाँमा अस्ट्रेलियासँग भएको खेलमा पाकिस्तान पनि सोही स्कोरमा आउट भएको थियो ।
न्युजिल्यान्डविरुद्धको खेलमा सबैभन्दा कम रनको योगफल पनि सोही स्कोर हो । यसअघि सन् २०१२ मा नापियरमा भएको खेलमा जिम्बाबे ५१ रनमा अल आउट भएको थियो । पहिले ब्याटिङ गरेर टेस्टमा यो भन्दा कम स्कोर अहिलेसम्म ३ पटक मात्र बनेका छन् । दोस्रोपटक शीर्ष ८ का ५ ब्याट्सम्यान डकआउट भएका हुन् । सन् १९८८ मा अस्ट्रेलियाका ८ शीर्ष मध्येका ५ ब्याट्सम्यान इंग्ल्यान्डसँगको खेलमा डकआउट भएका थिए ।
प्रतिक्रिया