कुनै एउटा तीनकुने, चारकुने, बाटुला आदि प्वाल भएको माटोको भाँडामा छोपेर अन्धकारमा राखिएको दियोको प्रकाश जुन आकारको प्वालबाट बाहिर निस्कन्छ त्यस्तै आकारको देखिने गर्दछ । शरीरमा रहेका कान, नाक आदि पनि यस्तै खालका प्वाल हुन् । तिनले बेग्लै ज्ञान दिने गर्दैनन् मूल प्रकाशबाट प्रकाशित भएर त्यसलाई प्रकाशित गर्ने मात्र हुन् । आँखामा दृष्टिक्षमता हुँदो हो त चस्मा जस्तै गोजीमा बोकेर हिँड्दा भइहाल्दथ्यो नि । आँखा, कान यथास्थितिमा हुँदा पनि मृत शरीर भएपछि ती जड हुन पुग्दछन् ।
वेद एवं देवताको सार ॐ हो । यसैले ॐ मा स्वतः मोक्ष प्रदान गर्ने शक्ति हुन्छ । यही मोक्ष प्रदान गर्ने शक्तिलाई भवसागरबाट तार्ने शक्ति पनि भनिन्छ । यसैले ॐ लाई ‘तार’ भनिएको हो ।
मोक्षरूपी ॐकारमा सबै देवता, प्राण आदि इन्द्रियसँगै प्रवेश गर्ने हुनाले यसलाई विष्णु पनि भनिन्छ ।
व्याख्या : जसमा सबै कुरा प्रवेश गर्दछन् वा लीन हुन्छन् त्यसलाई विष्णु भनिन्छ । कार्य सधैँ कारणमा लीन हुने गर्दछ । जस्तै सुनका गहना सुनका कार्य हुन् । यी गहना पगाल्यो भने त्यो यसको कारण अर्थात् सुनमा गएर लीन हुन्छ । कपडा यथार्थमा माटोबाट बनेको हुन्छ अर्थात् कपडा माटोको कार्य हो । जब यो जल्दछ तब आफ्नो कारण अर्थात् माटोमा खरानी भएर मिल्दछ ।
जुन् कुरा जे तत्वबाट पैदा भएको हुन्छ, अन्तमा त्यो त्यसैमा गएर लीन हुन्छ । यसैले कार्य (उत्पत्ति हुने कुरा) का कण–कणमा कारण (मूल तत्व) व्यापक भएर बसेको हुन्छ । सुनका गहनाको कण–कणमा सुन तथा कपडाको कण–कणमा माटो रहेको हुन्छ ।
यसलाई अझ स्पस्टरूपमा हेर्ने हो भने समुद्र, ताल आदिको छाल वा लहरलाई हेर । यो उठ्दछ तर पुनः गएर समुद्रमै विलीन हुन्छ । समुद्रबाट उत्पन्न हुने लहरका कण–कणमा पानी हुन्छ ।
यसरी नै सबै देवता (कार्य) जसमा गएर लीन हुन्छन् त्यो व्यापक ॐ कार नै विष्णु (कारण) हुन् ।
देवता भनेको अमुक कुनै मूर्तिमा सीमित हुँदैन । दिव धातुले बनेको यो शब्दले जो चेतन हुन्छ वा जसले प्रकाश दिन्छ त्यसलाई बुझाउँदछ । चेतन वा प्रकाश दुई किसिमको हुन्छ भौतिक वा बाहिरी प्रकाश तथा चेतन वा शरीर भित्रको आन्तरिक प्रकाश । प्रकाशबिना केही कुरा पनि देखिँदैन । कुनै पनि कुरा प्रकाशका माध्यमबाट देखिने मात्र हो, प्रकाशले ती कुरा बनाउने होइन ।
मनको प्रकाश (चेतन प्रकाश) लाई प्रकाशित नगर्दासम्म बाहिरी प्रकाश (जड प्रकाश) को व्यापकता थाहा हुँदैन । जसरी नाकले गर्दा गन्ध, कानका कारण आवाज वा शब्द, आँखाका कारण रूप, जिभ्रोका कारण रस वा स्वाद र छालाका कारण स्पर्श ज्ञान हुन्छ त्यसरी नै मनको प्रकाशका माध्यमबाट मूल प्रकाशको ज्ञान हुने गर्दछ ।
कुनै एउटा तीनकुने, चारकुने, बाटुला आदि प्वाल भएको माटोको भाँडामा छोपेर अन्धकारमा राखिएको दियोको प्रकाश जुन आकारको प्वालबाट बाहिर निस्कन्छ त्यस्तै आकारको देखिने गर्दछ । शरीरमा रहेका कान, नाक आदि पनि यस्तै खालका प्वाल हुन् । तिनले बेग्लै ज्ञान दिने गर्दैनन् मूल प्रकाशबाट प्रकाशित भएर त्यसलाई प्रकाशित गर्ने मात्र हुन् । आँखामा दृष्टिक्षमता हुँदो हो त चस्मा जस्तै गोजीमा बोकेर हिँड्दा भइहाल्दथ्यो नि । आँखा, कान यथास्थितिमा हुँदा पनि मृत शरीर भएपछि ती जड हुन पुग्दछन् ।
शरीरले लिने ज्ञानको प्रकाशदेखि आकाशमा चम्किने सूर्य आदिको प्रकाशसम्म सबै परमात्माको प्रकाशका अंश हुन् । यी सबै प्रकाश अन्तमा परमात्माको प्रकाशमा गएर बिलीन हुन्छन् ।
हराउने, जिताउने, उक्साउने, थचार्ने आदि सबै काम एउटै परम शक्तिले गरिरहेको हुन्छ । ‘म’ अभिमानी हुन्छ त्यसैले उसमा मैले गरेको भन्ने घमण्ड जाग्ने गर्दछ । यथार्थमा सबैका कारण परमेश्वर हुन् । उनी एउटै हुन् । परन्तु उनबाट आउने प्रकाशमा देखिने विविधताको भ्रममा परी मानिस अनेक थरी ईश्वर देख्ने गर्दछ ।
सबै कुरा (जे जति अस्तित्वमा छन् अर्थात् कार्य) ती जुन् तत्व (कारण) मा गएर अन्तमा बिलीन हुन्छन् त्यो तत्वलाई विष्णु भनिन्छ ।
उमा (पार्वती वा प्रकृति) पनि ॐ हुन् । उमा उमा भनेर जपिरहँदा अन्तमा ॐ नै जपिन थाल्दछ ।
सूर्य, चन्द्र आदि स्थूल देवता वा प्रकाश तथा आँखा, कान आदिलाई ज्ञान दिने सूक्ष्म प्रकाश ः यी सबै ॐ को ध्यान गर्नाले थाहा पाइन्छ । यसैले ॐ लाई विष्णु भनिएको हो ।
शरीरका नाक, कान आदि अंगले मनको प्रकाशमार्फत पाउने बास्ना, शब्द आदिको ज्ञानमा कुन ठूलो र कुन सानो भनेर विवाद गर्नु र मूल प्रकाशबाट विभाजित भएर प्रकाशित हुने देवताहरूमा विवाद गर्नुउस्तै हो । आफूभित्र रहेको प्रकाश र सबै देवताभित्र रहेको प्रकाशको कारण एउटै हुन् । एकोकहं द्वितीयो नास्ति । परमात्मा वा ब्रह्म नै हुन् । यसैले अहं ब्रह्मास्मि (म नै ब्रह्म हुँ) भनिएको हो ।
भगवान् शिवले गणेशको शिर प्रत्यारोपण गरेजस्तै विज्ञानले मानवका अंग प्रत्यारोपण गर्दछ । कहिले हालिएको अंगले काम गर्दछ कहिले गर्दैन । काम नगर्दा ‘शरीरले त्यसलाई लिएन’ भनिन्छ । हो त्यही शरीरले लिने नलिने तत्व भनेकै आन्तरिक प्रकाश हो । मनको प्रकाशसँग प्रत्यारोपण गरिएको अंगको सम्बन्ध गाँसियो भने त्यसले काम गर्दछ नत्र गर्दैन । आयुर्वेदका ग्रन्थमा मानवभित्र रहने यो प्रकाशलाई ‘ओज’ भनी व्याख्या गरिएको छ ।
यी र अरू बाँकी अविद्या र त्यसका कार्य आदिलाई समेत आफूमा समाहित गरेर (खाएर) आफ्नै आश्रयमा राखी बढाउने हुनाले ॐकारलाई ब्रह्मा वा ब्रह्म भनिन्छ ।
व्याख्या : बृंहणको अर्थ ‘कुनै पनि कुरालाई बढाउनु’ भन्ने हुन्छ । ॐकार कसरी ब्रह्मारूपी हुन्छ त भन्ने कुरा श्रद्धापूर्वक समझिनु पर्दछ, आँखाले हेरेर थाहा हुँदैन । यो कुरा स्पष्ट पार्न नादब्रह्ममा दिइएको एक प्रसंग राख्न चाहेँ ।
एकदिन उद्दालक आरुणि नामक मुनिले आफ्ना पुत्र श्वेतकेतुलाई ‘एउटा बरको पाकेको फल लिएर आऊ’ भने । पुत्रले गएर फल लेराए । त्यसपछि मुनिले उक्त फललाई फुटाउन लगाए र पुत्रलाई सोधे, ‘के रहेछ त्यसभित्र ?’
पुत्रले जवाफ दिए, ‘पिता यसभित्र त अनेकौँ ससाना बीज छन् ।’
पुनः मुनिले ती ससाना बीजमध्येको एउटा बीजलाई पनि फुटाएर त्यसभित्र के रहेछ हेर भने ।
पुत्रले फुटाए । तर अत्यन्त सानो बीजभित्रको कुरा उनको चर्मचक्षुले देख्न सक्ने कुरा थिएन । त्यसैले पितालाई भने, ‘पिता यसभित्र त केही पनि देखिएन ।’
यसपछि मुनिले आफ्ना पुत्रलाई भने, ‘तिमीले केही पनि नदेखेको कुरामा नै वास्तवमा बरको पूरा रूख लुकेर बसेको छ । तिमी जतिवटा बरका वीज फुटाएर हेर त्यसभित्र केही पनि देखिँदैन, तर श्रद्धापूर्वक त्यो वीजलाई कतै लगेर रोपी पानी हाल्दै जाउ त यसबाट एकदिन बरको विरुवा उम्रेर विशाल वरको रूख बन्दै जानेछ । वीजमा नै वृक्ष हुन्छ भन्ने कुरा नांगा आँखाले देखिँदैन श्रद्धाबाट मात्र थाहा हुन्छ । हे पुत्र ! जसरी बरको वीजभित्र पूरा बरको रूख समेटिएको हुन्छ त्यसरी नै सारा संसार परमात्मामा समेटिएको हुन्छ । प्रलयकालमा केही पनि देखिँदैन तर सृष्टिकालमा सबै कुरा त्यसैबाट प्रकट हुन्छ । यी कुरा श्रद्धाले मात्र बुझिन्छ, आँखाले देखेर बुझ्न सकिँदैन । ॐकारबाट सबै वैदिक मन्त्र र सबै कुरा उत्पन्न भएका हुन् । ॐकार नै वीज हो । यो वीजलाई आफ्नो अन्तस्करणमा रोपी बुद्धिलाई जल बनाएर सिँचाई गर्दै मनलाई शुद्ध र शान्त पारी मलका रूपमा प्रयोग गर्दै गयौ भने यही ॐकारबाट नै सबै वेद तिम्रा अगाडि प्रकट हुन थाल्दछन् । यसैले ॐकारलाई ‘सर्वाणि बृंहयतीति ब्रह्म’ भनिएको हो ।’
सबै विषय र मन आदि आन्तरिक विषयलाई पनि दीपले जसरी प्रकाशित गर्ने हुनाले ॐ कारलाई प्रकाश पनि भनिन्छ ।
व्याख्या : विषय ग्रहण गर्ने शरीरका आँखा, नाक आदि अंग रहने तथा अन्तस्करण रहने स्थान हृदयलाई अन्तःस्थान भनिन्छ । शरीर बाहिर हुने चन्द्र, सूर्य आदिलाई ध्यान गरिने कुरा वा ध्येय भनिन्छ । ॐकार यी अन्तस्थान र ध्येयभन्दा बैग्लै हो । यसको प्रकाशले चन्द्र, सूर्य, नाक, कान आदि प्रकाशित हुन्छन् । तर पनि यो ॐ यी सबै कुराभन्दा बेग्लै हो ।
ॐ ले आफ्नो अन्तःशरीरमा काम (वासना) आदि प्रकाश गर्नयोग्य विषयलाई स्वयं अलग भएर प्रकाशित गरिरहन्छ । जसरी दिशालाई छेड्दै चम्कने बिजुलीले बादललाई प्रकाशित गरी व्यापक हुन्छ, त्यसरी नै यो मोक्षदायक ॐकार पनि आफ्नै प्रतीक भएर, आफ्नै रूप भएर माया नामक दिशालाई छेड्दै सबै विषयलाई व्यापक बनाउने गर्दछ । यसरी सत्, चित् र आनन्दरूपले व्यापक हुने कारणले यसलाई व्यापी वा महादेव भनिन्छ ।
यो ॐ कारको पहिलो मात्रा अर्थात् ‘अ’ कार जाग्रत् (बिउँझिएको) अवस्था हो, दोस्रो मात्रा स्वप्न (निद्रा) अवस्था हो, तेस्रो मात्रा सुषुप्ति (प्रलय, गाढा निद्रा) अवस्था हो तथा चौथो अवस्था मोक्ष अवस्था हो ।
यसरी ॐ कारमा रहेका पहिलो पहिलो मात्रा (पद) क्रमशः दोस्रो दोस्रो मात्रामा विलय भएपछि यसले सबै पाद (अंश) माथि जित हासिल गर्दछ । यसरी यो स्वयं ब्रह्म र स्वयं प्रकाशित हुन पुग्दछ तथा यथार्थ ज्ञानको सिद्धि प्राप्त गर्दछ । यसलाई विकल्पहीन तरिकाले समाधि आदिमा प्रयोग गरिन्छ । त्यसबेला सबै किरण पनि समाप्त हुनाले तत्व मात्र धार्यको धारणाले त्यो मोक्षरूपी ब्रह्म मात्र बाँकी हुन पुग्दछ ।
व्याख्या : जब मानिस बिउँझिएको अवस्थामा हुन्छ तब उसले विभिन्न कुराहरू प्रत्यक्षरूपमा इन्द्रियका माध्यमबाट उपभोग गर्दछ । जब ऊ निदाउँदछ तब ऊ अस्तित्वमा नभएका कुरा पनि भएजस्तै गरी उपभोग गर्दछ । जब ऊ गाढा निद्रामा पर्दछ तब ऊ उपभोगका सबै प्रक्रियाबाट पर पुग्दछ । त्यसबेला बिउँझिदा वा सपना देख्दाका बेलामा जसरी विषयसुखका अनुभव हुँदैनन् । तैपनि ऊ अति आनन्दसँग निदाइरहेको हुन्छ । बिउँझिएका बेलामा बढी र सपनामा अलि कम खलबलिने मन गाढा निद्रामा पर्दा शान्त हुन्छ । त्यो परम शान्त अवस्था स्थिर रहँदैन मानिस पुनः सपनामा फर्किन्छ र सपनाबाट पनि पुनः बिउँझिने अवस्थामा पुग्दछ ।
सामान्य मानिस सुतेका बेलामा गाढा निद्रामा पर्नुभन्दा अघि र गाढा निद्राबाट फर्कने अवस्थामा गरी दुईपटक सपना देख्ने गर्दछ । गाढा निद्रामा सपना देखिँदैन । जीवलाई चाहिने वास्तविक निद्रा भनेको गाढा निद्रा मात्र हो । साधकहरू त्यही गाढा निद्रा मात्र उपभोग गर्ने गर्दछन् । त्यसैले तिनलाई धेरै समय सुत्न आवश्यक हुँदैन ।
भगवान् श्रीकृष्णलाई मणिचोरेको दोष लाग्यो । उहाँले घोडा, बाघ र भालुको पदचिह्न पछ्याएर गुफासम्म पुग्नुभयो । त्यसपछि सँगै गएका सबै वासनारूपी सहचरहरूलाई छाडेर अन्धकार गुफामा छिर्नुभयो । धेरै भित्र पसेपछि बल्ल मणिको प्रकाश देखियो । त्यसपछि मणि लिनका लागि पहल गर्नुभयो । अनि मणि लिएर बाहिर आउनुभयो ।
ठिक यसरी नै ॐलाई ध्यान गर्नुपर्दछ । मणि हराउनु जाग्रत् अवस्था वा सृष्टिको अवस्था हो । सृष्टि हुँदा मूल तत्व देखिँदैन, हराउँदछ । घटनास्थलमा हुँदै नभएका घोडा, बाघ, भालुको खुट्टाको छाप हेरेर पछ्याउँदै गुफासम्म जानु स्वप्न अवस्था वा पालन वा कर्मको अवस्था हो । कर्म गर्दा सृष्टिका बारेमा पर्वाह हुँदैन । अर्थात् सृष्टि गएर कर्ममा विलीन हुन्छ । सँगै आएका जाग्रत् र स्वप्न अवस्थालाई पनि बाहिरै राखेर गुफाभित्र अन्धकारमा प्रवेश गर्नु गाढा निद्रा वा प्रलयको अवस्था हो । प्रलयको अवस्थामा सृष्टि मिसिएको कर्म प्रलयमा गएर विलीन हुन्छ । त्यहाँभित्र मणि पाएर ग्रहण गर्नु मोक्षको अवस्था हो । मणिलाई त्यहीँ छाडेर आउँदा त दाग हट्ने थिएन सँगै लेराएर जिम्मा लगाएपछि मात्र उहाँमा लागेको दाग हट्यो ।
सर्वप्रथम सृष्टि हुन्छ, त्यसपछि त्यो सृष्टि मायाको बन्धनमा परेर विषयसुखमा रमाउँदछ, अन्तिममा सबै सृष्टि अन्धकारमा गएर विलीन हुन्छ, त्यो अन्धकार पनि एउटा प्रकाशपुञ्जमा गएर हराउँदछ र अन्तमा त्यो प्रकाशपुञ्ज पनि परमतत्वमा गएर विलीन हुन्छ । यही चिन्तन गर्दै ॐ को चार पाउ वा मात्राको ध्यान गर्नु पर्दछ ।
त्यो मोक्षरूपी ब्रह्ममा सबै खालका किरणलाई राम्ररी विलय गरेर (जसलाई) ध्यान गरिन्छ, त्यसका प्रधान पुरुष विष्णु हुन्छन् । अनि इन्द्रियसँगै मनलाई प्रतिस्थापित गरी ध्यान गर्दा केवल मन मात्र ब्रह्माकार रूपमा परिणत हुन पुग्दछ । त्यस अवस्थाका ध्यान गरिने रुद्र हुन पुग्दछन् । यसैगरी मोक्ष चाहनेले इन्द्रियसहित प्राणलाई मनमा र मनलाई ब्रह्म प्रणव नादको अन्तरूप परमात्मामा स्थापित गर्न सकिएपछि ईश्वरलाई ध्यान गर्नुपर्दछ ।
जसबाट यो सारा संसार तथा बह्मा, विष्णु र रुद्रको उत्पत्ति हुन्छ उनी नै सबैका कारणरूपी ईश्वर नामका ब्रह्म हुन् ।
उनी बाहेक यी सबै इन्द्रिय तथा पञ्चमहाभूतको अन्य कुनै कारण छैन । यसैले परमेश्वर नै सबैका ध्येयरूप भई सबै कुराको कारण बन्ने गर्दछन् । ती सबै खालका ऐश्वर्यले युक्त, सबैका ईश्वर नै शम्भु हुन् । यस्तो कहिल्यै ननासिने आत्मालाई जोसुकै पुरुषले आफ्नो मुटुको आकाशमा एक क्षण वा आधा क्षण भएपनि स्थिर भएर ध्यान गर्दा उसलाई त्यही स्वरूप पाएको फल मिल्दछ । पछि उक्त फल १७४ यज्ञ गरे बराबरको हुन पुग्दछ । यसपछि उसले ॐ कारको पूर्ण गतिलाई पनि थाहा पाउँदछ । यसरी जसले ॐकारलाई जान्दछ त्यस्तो मुनिलाई सबै खालका ध्यान, योग र ज्ञानका फल प्राप्त हुन्छ । यसैले सबै कुरा (वस्तु) छाडी एक मात्र शिव भगवान्को ध्यान गर्नुपर्दछ । उनी नै कल्याणकारी हुन् । (समाप्त)
प्रतिक्रिया