काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उनीहरूलाई सधैँ नजिक राख्ने बताएका छन् ।
लेखक डा बिन्दा पाण्डेको पुस्तक ‘आश्रय, सुरक्षा सम्पर्कको सारथीः भुँइमान्छे’ माथिको परिचर्चामा एमाले उपमहासचिव ज्ञवालीले भुँइमान्छेको जीवनस्तर उकास्न राज्यका नीतिसँगै पार्टीले विभिन्न ठाँउमा उनीहरूबारे अभिलेख राख्ने, सम्मान र स्मरण गर्नुपर्नेमा जोड दिए ।
डा पोण्डेको पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै नेता ज्ञवालीले पार्टी निर्माणको जगमा भुइँमान्छेको भूमिका उल्लेख गरे । उनले भूमिगत आन्दोलनको आश्रय स्थलमा आफ्नो अनुभव सुनाउँदै बच्चाको गाँस काटेर पार्टीलाई सहयोग गर्न भुँइमान्छेहरूको स्मरण गरे ।
राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्यले युवापुस्तासम्म कम्युनिष्ट आन्दोलन र यसमा भूमिका खेल्ने भुइँमान्छेबारे जानकारी दिन यस पुस्तकले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन् । राष्ट्रियसभाका अर्की सदस्य भगवती न्यौपानेले आगामी पुस्तालाई राजनीतिक संघर्ष, त्याग र बलिदानको इतिहासलाई बुझाउन पुस्तकले मद्दत गर्ने राय व्यक्त गरिन् ।
लेखक पाण्डेले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानलाई राजनीतिक इतिहासका कुनै दस्ताबेजमा समेटिन नसक्नु दुखद् भएको बताइन् । तत्कालीन निरंकुशताविरूद्ध क्रान्तिका लागि निस्किएका नेतृत्वहरूलाई आफ्नो ज्यानको बाजी थापेर जोगाउने सर्वसाधारण भुइँमान्छेको योगदानको स्मरण यस पुस्तकले गर्ने उनले बताइन् ।
‘आन्दोलन सत्तामा रूपान्तरण भयो । त्यो समयमा भुँइमान्छेसँग नेतृत्वले गरेको संकल्प बिर्सेको त हैन भन्ने प्रश्न गर्नुहुन्छ, हामीले त्यो प्रश्नको जवाफ खोज्नुपर्छ’, लेखक पाण्डेले भनिन् ।
बैठक र भेला गर्ने स्थान, भूमिगत नेता–कार्यकर्ताका लागि आश्रयस्थल मात्र नभएर लाउने, खाने र सुरक्षाको समेत जिम्मेवारी निर्वाह गरेका धेरै आश्रयदातामध्ये केही प्रतिनिधिको कथाका पात्रहरूबारे चर्चा गरिएको थियो । साथै, नेपाली राजनीतिक आन्दोलनमा आमाहरूको योगदानलाई समेत पुस्तकले समेटेको छ ।
राससका महाप्रबन्धक सिद्धराज राईले भुँइमान्छेको नेतृत्वप्रतिको विश्वासलाई मर्न नदिन नेतृत्व सधैँ सजग र इमान्दार हुनुपर्नेमा जोड दिए । ‘यस पुस्तकमा समावेश भएका पात्र जस्तै म स्वयंम पनि भुँइमान्छेको छोरा हो, हाम्रा आगामी पुस्ताले पार्टी निर्माणको इतिहास बुझ्न पनि यो पुस्तक पढ्नैपर्छ’, उनले भने ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष संगीता खड्का, संविधानसभा सदस्य कल्पना धमलालगायत राजनीतिक नेतृत्व एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।
विषम परिस्थितिमा जोखिम मोलेर आममान्छेले आश्रय (खाने, लाउने र बस्ने), सुरक्षा (पार्टी र जीवन रक्षाको प्रत्याभूति) का साथै सम्पर्क (राजनीतिक सम्पर्क र सम्बन्ध स्थापना) को जिम्मेवारी लिएर टोल र बस्तीहरूमा भूमिगत नेताका साथी बनेका भुँइमान्छेले कम्युनिष्ट नेतृत्वलाई दिशा, आन्दोलनलाई आधार र परिवर्तनलाई बल दिएका योगदानको स्मरण गरिएको थियो ।
प्रतिक्रिया