डडेलधुरा । ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर केवल एउटा अंक हो । झट्ट सुन्दा यो वाक्यांश कुनै चलचित्र वा साहित्यमा प्रयोग भएजस्तो अनुभूति हुन्छ । तर, दृढ इच्छाशक्ति र मिहिनेतले यसलाई वास्तविक जीवनमै प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– डडेलधुराका बहादुरसिंह साउद ।
पछिल्लो समय नेपालमा बच्चा ३–४ वर्षको भइसक्दा विद्यालय भर्ना गरेन भने ‘ढिलो भइसक्यो’ भन्ने मानसिकता विकास भइसकेको छ । सकेसम्म तोते बोली फुटेपछि र टुकुटुकु हिँड्न थालेपछि नै बच्चालाई स्कुल पठाउने अभिभावकको संख्या अत्यधिक भइसकेको छ । तर, बहादुरसिंह भने उमेरले ८० टेकेपछि विद्यालय भर्ना भएका छन् । र, सबैको चर्चाको विषय बनेका छन् । उमेरले नेटो काटेपछि विद्यालय भर्ना भएका उनले चर्चा त पाएका छन् नै, साथै उमेर गइसक्यो, अब के पढ्नु भनेर पढाइलाई महत्व नदिनेहरूका लागि पनि गतिलो प्रेरणा बनेका छन् ।
बहादुरसिंह डडेलधुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित वीर बलभद्र माध्यमिक विद्यालयमा यही शैक्षिक सत्रमा भर्ना भएर अध्ययनरत छन् । उनीसँगै उनका ६ जना साथीहरू पनि सोही कक्षामा पढ्छन् । ८–१० वर्षसम्मका २ छात्र र ४ छात्राहरूसँगै पढिरहेका बहादुर कक्षाकार्यदेखि गृहकार्यसम्म मिहिनेत गर्छन्, नबुझेको सोध्छन् ।
भनिन्छ– मानिसले बालापनको अनुभव २ पटक गर्छ । पहिलो– आफैँ बालक हुँदा, दोस्रो– बुढेसकालमा । त्यही भएर त बुढेसकाल लागेपछि आमाबाबुको चाहना हुन्छ– छोराछोरीको बिहे गरिदिएर नातिनातिना खेलाउने । बुढेसकालका असली साथी भनेकै बालबालिका हुन् भन्ने कुरा वृद्धवृद्धाको नातिनातिना मोह र नातिनातिनाको हजुरबा/आमासँगको सामीप्यले पनि पुष्टि गर्छ । त्यसकारण पनि बहादुरलाई स्कुलमा घरमै नातिनातिनासँग पढिरहेको/खेलिरहेको भान हुन्छ । र, उनी यसमा खुब रमाइरहेका छन् ।
बहादुरले यसअघि पनि स्कुल भर्ना भएर पढ्न नचाहेका होइनन्, तर स्कुलले बुढेसकालमा के रहर जागेको भनेर हाँसोमै उडाइदियो । तर, हरेक पटक गएर हेडसरलाई ‘सर म पढ्ने हो’ भन्न छाडेनन् । अन्ततः स्कुलले यस वर्ष भने हार खायो र बहादुरलाई भर्ना गर्यो । नेपाललाई आफ्नी आमासमान सम्मान गर्ने उनलाई नेपालीमा खरर बोल्न र लेख्न सक्ने हुनु छ । उनले अठोट नै गरेका छन्– म स्वास्थ्यले साथ दिएसम्म स्कुलमै गएर पढ्छु, कुनै दिन पनि गयल हुन्नँ । बिदा बस्नुपर्दा बिदाको निवेदन लेख्ने गरेको उनी सुनाउँछन् ।
आफ्नो बाल्यकाल सम्झिँदै बहादुर भन्छन्, ‘त्यतिबेला गाउँमा स्कुल थिएन । बाआमाले टाढाको स्कुलमा लगाएर पढाउनुभएन । पढाउनुपर्छ भन्ने पनि थिएन । सरकारले नै धेरै ठाउँमा स्कुल खोलेको थिएन ।’ विभिन्न कारणले पढ्न नपाएका र नपठाइएका बालबालिकालाई पढाउनुपर्ने बहादुर बताउँछन् । अहिले हरेक कुराले पढ्न धेरै सजिलो अवस्था रहेको भन्दै उनले उमेर ढल्कियो भनेर पढाइलाई बेवास्ता नगर्न पनि सुझाव दिएका छन् । ‘पढाइका लागि सरकारदेखि विभिन्न संघसंस्थाले समेत हातेमालो गरिरहेका छन्,’ उनी भन्छन्, ‘बालबालिका र अभिभावकले नबुझेर स्कुल नपठाएको हुन सक्छ, त्यसका लागि पढाइको महत्व बुझाएर सबै नेपालीलाई शिक्षित बनाउनुपर्छ ।’
प्रतिक्रिया