नेरिक एकेडेमीद्वारा आयोजित तिज नृत्य प्रतियोगिता सकियो

काठमाडौं । नेरिक एकेडेमीले उपत्यका ब्यापी छैठौँ अन्तर विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर नेरिक एकेडेमिले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त तिज नृत्य प्रतियोगिता नेरिक एकेडेमीको प्रांगणमा यही भदौ १ गते शनिबार सम्पन्न भएको आयोजकले जनाएका छन् । उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ३२ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले भाग लिएको बताइएको छ ।

सो प्रतियोगितामा १२ वर्षदेखि १६ वर्षभित्रका उमेर समूहका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र भाग लिएका थिए । प्रतियोगितामा वरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा र रिना थापा मगर रहेको नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कँडेलले जानकारी दिए ।

उपत्यका व्यापी छैठौँ अन्तर विद्यालय मौलिक तिज नृत्य प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ र ट्रफी, द्वितिय हुनेलाई १५ हजार रुपैयाँ र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैयाँ र ट्रफी, चौथो र पाँचौंलाई ५–५ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्रदान गरिएको कँडेलले बताए । उनका अनुसार उत्कृष्ट १० लाई ट्रफी प्रदान र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगीतामा हिम रश्मी स्कुल प्रथम, नविन ज्योती स्कुल द्वितिय, भेधभायस स्कुल र काठमाडौं जेभियर तृतिय, ब्राईट एञ्जल स्कुल चौथो, नवोदित स्कुल पाँचौ, न्यु नलेज छैठौँ, गोल्डेन पिक स्कुल सातौँ, एञ्गल लर्ड स्कुल आठौँ, ग्रीन हिल्स र नेशनल मोडल स्कुल नवौँ, कोटदेबी स्कुलले दशौँ स्थान हासिल गरेको प्रिन्सिपल कँडेलले बताए । त्यसैगरी बेष्ट ड्रेस तर्फ एञ्गल लर्ड स्कुल, बेष्ट कोरियोग्राफर तर्फ ईसान श्रेष्ठ सम्मानित भएका थिए ।

प्रतिक्रिया