एकल महिलाको अवस्था विदेशीको जस्तो नेपाली समाजमा सहज छैन । एकल महिलालाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा फरक छ । नेपाली समाज र घरपरिवारका पराम्परागत कुरीतिलाई जगाइदिने मानिसको कमी छैन । त्यति मात्रै होइन, विविध किसिमका लाञ्छना पनि लगाउन पछि पर्दैन नेपाली समाज । श्रीमान् बितेका कारण एकल भएका महिलालाई नेपाली समाजले बोक्सी र लोग्ने टोक्ने भनेरसमेत आरोप लगाउने गरेको पाइन्छ । एकल महिलालाई तिरस्कार गर्ने पुरुषवादी सोच हाम्रो समाजमा जीवितै छ । तर समाजका यी कैयौँ बाधाहरूलाई चिर्दै एकल महिला पनि नमुनाका रूपमा समाजमा खडा भएका छन् ।
उनीहरूको कामले एकल महिलालाई कठै बिचरा होइन, समाजमा अग्रणी भएर काम गर्ने प्रेरणा र उदाहरणीय बनाएको छ । जसको एक पात्र बनेकी छन्, सविता महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठी स्थित सविताको अध्यक्षतामा कृषि फार्म छ । उनीसहितका एकल महिलाहरूले सुनाकोठीमा छहारी कृषि एकल महिला फार्मबाट व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । उनका दिनचर्याहरू अहिले त्यही कृषि फार्ममा बितिरहेका छन् ।
नेपाली समाजमा एकल महिलाले भोग्ने गरेका सबै प्रकारका कष्ट सविताले पनि भोगिन् । एकातिर सामाजिक भेदभाव अर्कोतिर रहरलाग्दो उमेरमै श्रीमान गुमाउँदाको पीडा । उनको श्रीमानको मृत्यु हुँदा उनको साथमा ३ वर्षको छोरी थिइन् । अहिले १३ वर्ष भयो महर्जनले एक्लै यात्रा सुरु गरेको । सवारी दुर्घटनामा परेर उनको श्रीमानको मृत्यु भएपछि उनले निकै संघर्ष गरिन् । समाजको कुदृष्टिलाई बेवास्ता गर्दै महर्जन आफ्नो लक्ष्य र हिम्मतमा अडिक बनिन् । उनैको नेतृत्वमा सुरु भएको फार्म अहिले जिल्लाकै नमुना कृषकका रूपमा छ ।
श्रीमान गुमाएका महिलाले अनेक प्रकारका मानसिक र शारीरिक पीडा खेप्न बाध्य हुन्छन् । एकल महिलालाई बाँच्ने हौसला दिनुका सट्टा अनेक प्रकारका लाञ्छना र यातना दिने गरिन्छ । पछिल्लो समय समाजमा त्यस्ता धेरै एकल महिला छन, जसले नमुना काम गरेर देखाइरहेका छन् । ३ वर्षदेखि कृषिमा रमाउँदै आएकी महर्जनको जीवन पनि कहालीलाग्दो र संघर्षपूर्ण छ । उनले भनिन्, ‘महिलाका लागि काम गर्नसोचेजस्तो सहज छैन, तैपनि कामलाई निरन्तरता दियो भने आफैँ सफलता पाइन्छ । महिला पुरुषको अन्तर होइन, कामको आधारमा मूल्यांकन भयो भने समाजमा महिलामाथि हेर्ने दृष्टिकोण बदलिन्छ ।’
महर्जनले भनिन्, ‘पहिलाका दुःख सम्झिन चाहान्न । समाजको कुदृष्टि र हेराइ देखेर त समाजमा एकल महिला भएर बाँच्नुभन्दा त मर्नु नै बेस रहेछजस्तो लाग्थ्यो । तर, जतिसुकै कष्ट भए पनि त्यही समाजमा विद्रोह गरेर बाँच्नुको विकल्प थिएन ।’ ३ वर्षको छोरी काखमा च्यापेर आफूले गरेको संघर्ष उनले मलिन हुँदै सुनाइन्, ‘कलिलो उमेरमै श्रीमान् गुमाएपछि धेरै पीडा र दुःख खेप्नुप¥यो । सबैको तिरस्कार सहनै पर्ने बाध्यता थियो । किनकी मलाई यहि समाजमा बाँच्नु थियो । तर सुःखदुःखमा साथ दिने कोही भएन् ।’ रहरलाग्दो उमेरमै एकल बनेकी सविताले कहिल्यै हार मानिनन् । पछि उनले एकल महिला समुहको साथ पाइन् । अहिले उनी त्यही समुहमा केन्द्रीय सदस्य छिन् ।
ललितपुर महानगरपालिका–२७ को बालकुमारी चउरको उत्तरतर्फ रहेको छहारी कृषि एकल महिला फार्म सञ्चालन गर्दै आएकी छन् उनले । एकल महिलाहरू मिलेर सामुहिक खेती गर्ने योजना फुरेपछि महर्जनले बालकुमारी गुठीको १८ रोपनी जग्गा भाडामा लिएर बेमौसमी तरकारी उत्पादन सुरु गरिन् । अहिले ३ वर्ष भयो, उनले व्यवसाय सुरु गरेको । फार्ममा गोलभेँडा, खुर्सानी, बन्दागोभी, धनियाँ, रायो, पालुंगो, साग लगायतका बेमौसमी तरकारी बिक्रीका लागि तयार छन् ।
श्रीमान् र घरपरिवारको साथबिना एक्लो जीवन बिताए पनि आफ्नै मिहिनेत र परिश्रमले समाजमा उदाहरणीय बनेका महिला हुन् उनी । छहारी एकल महिला कृषि फार्मका महिलाले राम्रो आम्दानी मात्र गरिरहेकी छैनन् । उपत्यकावासीलाई दैनिक रूपमा ताजा तरकारी खुवाइरहेका छन् । घरपरिवारबाट सहयोग नपाउँदा पनि आफूले मिहिनेत गरेमा पैसा कमाउन खासै अप्ठेरो नहुने उनीहरूको धारणा छ ।
कृषि व्यवसायको सोचपछि सुरु गरिएको यो फार्ममा अहिले ३६ जना एकल महिला आवद्ध छन् । एकल महिला समूह तथा गृह श्रमिक महिला समूहमा आवद्ध २५ जना महिलाबाट सुरु भएको छहारी फार्ममा ३६ जना महिला जोडिएका छन् । यो फार्ममा करिब ८० लाख बराबरको लगानी भइसकेको छ । अहिले फार्ममा क्इम् नेपाल संस्थाले छहारी फार्मलाई आधुनिक स्टिल टनेल बनाउन ऋण सहयोग र सिँचाइका लागि पानीट्याक्की तथा डिप बोरिङ, सोलार प्यानलजस्ता रहेका छन् ।
रुकुम पश्चिम
प्रतिक्रिया