पर्वतमा ५६ जना डेंगुका बिरामी

पर्वत । जिल्लामा डेंगु रोगको संक्रमण पछिल्लो समय बढेको छ । पर्वत अस्पतालले दिएको जानकारी अनुसार गर्मी मनुसन सुरु भएसँगै पर्वत जिल्लामा डेंगुको संक्रमण ५६ जनामा पुष्टि भइसकेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण चालु वर्षको मनसुन सुरुसँगै बढेर गएको हो । अस्पतालमा आउने उच्च ज्वरोका अधिकांश बिरामीमध्ये धेरै जनालाई डेंगु रोग पुष्टि भएको अस्पताल श्रोतको भनाई छ ।

स्वास्थ्य कार्यालय र स्थानीय पालिकाहरुले डेंगु रोगको रोकथामका लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाइबाट यो रोग क्रमशः बढिरहेको छ । जुलाई १७ देखि हालसम्म कुल ५६ जनामा यो रोग पुष्टि भइसकेको अस्पतालले जनाएको छ ।

डेंगु लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो । डेंगुका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगु ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगु एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ ।

तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगु संक्रमण गम्भीर हुन्छ, डेंगु रक्तस्रावी ज्वरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ ।

डीएचएफलाई डेंगीशक सिन्ड्रोम पनि भनिन्छ । अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्कय हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ । डेंगुको कुनै खास वा विशेष उपचार उपलब्ध छैन । यसको लक्षण पहिचान गरेर मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ ।

डेंगु हल्का वा गम्भीर दुवै हुन सक्ने चिकित्सकहरुले बताएका छन् । यस्तो अवस्थामा यसको लक्षण पनि फरक–फरक देखिन्छ । धेरै पटक हल्का डेंगु हुँदा खास गरी बालबालिका र किशोरकिशोरीहरूमा कुनै लक्षण देखिँदैन । डेंगुको संक्रमण भएको चारदेखि सात दिनभित्रमा हल्का लक्षणहरू देखिन थाल्छन् ।

गम्भीर अवस्थाहरूमा हेमोरेजिक ज्वरो वा डिएफएच (डेंगी हेमोरेजिक ज्वरो) को विकास हुने जोखिम बढ्छ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्छ र रगतमा प्लेटलेटको मात्रा कम हुन थाल्छ ।

प्रतिक्रिया