पर्वतका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्यो

पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेंगु र भाइरल ज्वरोका सरदर ३०० भन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेंगुका लक्षण देखिएका बिरामीको संख्यासमेत अत्यधिक रहेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेंगुका बिरामी भेटिएका छन् । यसवर्ष पर्वत अस्पतालमा डेंगु पत्ता लागेका १० बिरामीमध्ये २ जना गम्भीर छन् । डा. बाँस्तोलाले भने, ‘उनीहरूलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ।’

वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण पनि डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको संख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा.बाँस्तोलाले बताए ।

‘सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको संख्या बढिरहेको छ । हामीले एकै दिनमा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरेका छौँ’, डा.बाँस्तोलाले भने । गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको संख्या बढी मात्रामा देखिएको हो । उनले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु नै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरपर सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोषिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा. बाँस्तोलाको सुझाव रहेको छ ।
अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांश उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बिमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको संख्या बढ्दै गएको छ ।

जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् । १६ शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको गुनासो छ । उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ । पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यचौकीमा पनि डेंगुका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया