राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा रहेका कान उपचार केन्द्रको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । भवनको एक समारोहका बीच जग्गादाता जोगेन्द्र भगत र उनका धर्मपत्नी ठाकोदेवी भगतले शिल्यानास गरेका छन् ।
विगत १४ वर्षदेखि राजविराजको छुट्टाछुट्टै स्थानमा भाडाको कोठा लिई कानसम्बन्धी सम्पूर्ण रोगको उपचार सेवा प्रदान गर्दै आएको कान उपचार सेवा केन्द्रले अबको ९ महिनाभित्र आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
भवन निर्माणका लागि दानवीर नामले चर्चित स्थानीय समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मूल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछी केन्द्रको आफ्नै भवन निर्माण हुने भएको कान उपचार केन्द्रले जनाएको छ ।
यसअघि केन्द्रद्वारा राजविराज–९ मा कानका बिरामीहरूको जाँच र समान्य उपचार तथा वडा–३ मा शल्यक्रिया सेवा प्रदान गर्दै आएको थियो । दुबै ठाउँमा भाडाकै घर लिएर उपचार सेवा प्रदान गरिँदै आएकोमा समाजसेवी भगतले जग्गा उपलब्ध गराएपछि नयाँ र आफ्नै भवन निर्माणका साथै एकै थलोबाट सम्पुर्ण उपचार सेवा प्रदान गर्न सहज हुने इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले बताइन् ।
विगत १४ वषदेखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको सो आँखा उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत आँखा उपचार केन्द्र नामाकरण गर्ने तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेशकुमार यादवले जानकारी दिए ।
उक्त नयाँ भवन निर्माणका लागि इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैयाँ लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाडौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्सन प्रालिलाई दिइएको र तोकिएको समयभित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनले जानकारी दिए ।
प्रतिक्रिया