रौतहट । जिल्लाको बौद्धिमाई नगरपालिका–३ मटीअर्बामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पैसा नपाएको भन्दै सौर्य दैनिकमा समाचार छापिएपछि उनीहरूले काम गरे अनुसारको पुरै पारिश्रमिक पाएका छन् ।
गरिब, बिपन्न परिवारका व्यक्तिलाई १०० दिने रोजगारी दिने उद्देश्यले सञ्चालन गरेकोे प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ५६ दिन काम गरे बापतको रकम ३६ हजार ३०० रुपैयाँ बुझेको काम गरेका स्थानीय मेघु राउत कुर्मीले बताएका छन् ।
नगरपालिकाले दिएको ७ जनाको रोजगारीमा खटेका स्थानीय नथुनी महतो, जैतुन खातुन, मायादेवी, अरुणकुमार गुप्ता, सोनेलाल बैठा र रिनाकुमारी कुशवाहाले काम गरे बापतको खातामा आएका रकम ३६ हजार ३०० बुझी लिएको बताएका छन् ।
वडा अध्यक्ष मनि भुषण साहले परिश्रमको रकमबाट कमिसन लिएको भनी मजदुरहरूले गुनासो सार्वजनिक गरेको समाचार सौर्य दैनिकमा प्रकाशित भएपछि वडा अध्यक्षले २१ हजार ३०० का दरले रकम फिर्ता गरेका हुन् ।
मजदुरहरूले आक्रोशित भएर वडा अध्यक्ष साहमाथि गलत टिप्पणी गरेको बताएका छन् । काम गरेको ५६ दिनको बैंकमार्फत आएको रकम वडा अध्यक्षमार्फत लिइसकेको सोनेलाल बैठाले बताए ।
वडा अध्यक्ष साहले नगरप्रमुख प्रदीप यादवले ७ जनालाई मात्र राख्ने गरी दिएको कोटा अनुसार ७ जनालाई रोजगारी दिएको र उनीहरूले कामसमेत गरेको बताए । नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार दैनिक रूपमा पाउनुपर्ने ज्यालादारी अनुसारको रकम काम गर्ने व्यक्तिको खातामा नै गएको र सो अनुसारको रकम पाइसकेको प्रष्ट पारे ।
राजनीतिक प्रतिशोध साँध्नका लागि विपक्षीहरूले आफूविरुद्ध कामदारलाई उचालेर गलत आरोप लगाउने कार्य गरेको उनले दाबी गरेका छन् ।
बौद्धिमाई नगरपालिका–४ मा काम नगराई कागजमै आफ्नो नजिकको व्यक्तिलाई नाम लेखी वडा अध्यक्ष तुरुन्तनारायण यादवले रकम अनियमित्ता गरेको स्थानीयहरूले बताएका छन् ।
बौद्धिमाई नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकममा अनियमितता भएको बुझिएकोले सम्बन्धित निकायले छानबिन गरी कारबाही गर्नुपर्ने जरुरी देखिएको छ ।
रौतहट
प्रतिक्रिया