मल नदिएको झोकमा डिलर सञ्चालकमाथि कुटपिट

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपलिका–७ मा सोमबार मल नदिएको झोकमा खाद्य (मल) डिलर सञ्चालकमाथि कुटपिट भएको छ । डिलर सञ्चालक उमेश प्रसाद यादवलाई स्थानीय योगेन्द्रप्रसाद यादव र उनको छोरा संजिबकुमार यादव मिलेर कुटपिट गरेको बताइएको छ ।

सित्तैमा मल नदिएको कारण योगेन्द्र बाबुछोरा मिलेर निर्घात कुटपिट गरेको डिलर सञ्चालक उमेशले आरोप लगाएका छन् । ‘योगेन्द्रसँग पहिलेको हिसाब पनि बाँकी थियो उनले भने’, फेरी वडाबाट सिफारिस पनि नलिई मल सित्तैमा दिन दबाब दियो, मैले बाँकी पैसा माग्दा योगेन्द्रको बाबुछोरा मिलेर आफूलाई अन्धाधुन्ध कुटपिट गर्न थाले ।’

टाउको तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको उमेश राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरी मंगलबार घर फर्किएका छन् । कुटपिट गर्ने दुबै बाउँछोरा माथि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको बताउँदै उनीहरू अहिलेसम्म पक्राउ नपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया