जनकपुरधाम । जनकपुरधामको प्रशिद्ध जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालीन धर्ना बुधबार पनि जारी रहेको छ ।
नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटकपटक विरोध गरे पनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नगरेपछि विभिन्न राजनीतिक दलसहित, स्थानीय नागरिक समाज, बुद्धिजीवी, नेपाल चिकित्सक संघ सर्वपक्षीय धर्नामा बसेका हुन् ।
जानकी आँखा अस्पताल दर्ता हुनुपर्ने, विधानसम्मत सञ्चालक समिति गठन हुनुपर्ने, कोषाध्यक्षको हस्ताक्षरविना करारमा लेखाका कर्मचारी भर्ना गरेर करोडौँको कारोबार भएकोमा त्यसको छानविन हुनुपर्ने, अस्पतालमा कार्यरत रहेका ५ जना नेत्र रोग विशेषज्ञहरू मध्ये ३ जनालाई विनाकारण हटाउने काम भएको र काम गरेकालाई तलब भत्ता नदिएकोमा छानबिन हुनुपर्ने उनीहरूको माग रहेको छ ।
विनाकारण अस्पतालमा कार्यरत रहेका चिकित्सकहरू डा. अमित यादव, डा.सन्तोष साह र डा.रञ्जन ठाकुरलाई हटाउने काम भएको र काम गरेको अवधिको तलब भत्ता पनि नदिएकाले नेपाल चिकित्सक संघ पनि आन्दोलनमा सहभागी भएको हो ।
आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष चन्द्रमोहन झाले अनियमित तरिकाले सामानको खरिद गरेकोमा सो सामानको भुक्तानीमा रोक लगाएपछि उनको नाममा भएको खातालाई परिवर्तन गरी करारमा लेखा शाखामा सचिन राउतलाई भर्ना गरेर करोडौँको भुक्तानी दिएको भन्दै आफूहरूले अनिश्चित कालका लागि धर्ना सुरु गरेको कर्मचारी युनियनका अध्यक्ष नुतन कुमार झाले बताए ।
धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल चिकित्सक संघ, स्थानीय नागरिक समाज तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ । आन्दोलनरतपक्ष र अस्पताल व्यवस्थापन समितिले प्रशासन शाखा र ओपिडीमा तालाबन्दी गरेपछि अस्पतालको सबै सेवाहरू प्रभावित भएको हो ।
प्रतिक्रिया