वीरगन्जमा लागुऔषध चेकजाँचमा कडाइ

पर्सा । वीरगन्ज भन्सार हुँदै लागुऔषध भित्रिएको सूचना पाएपछि प्रहरीले प्रवेशद्वारमै आकस्मिक चेकजाँच तीव्र बनाएको छ ।
भारतीय सहर रक्सौलबाट लागुऔषध भित्रिन लागेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरो र भन्सार प्रहरीचौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले छडके चेकजाँचलाई तीव्र बनाएको हो ।

नेपाली युवाहरू दुव्र्यसनीमा फस्ने क्रम बढेपछि त्यसको नियन्त्रण गर्न प्रहरीले लागुऔषध ओसारपोसार गतिविधिलाई निस्तेज पार्न सक्रियता देखाएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोको टोली, नेपाल प्रहरी र ट्राफिक प्रहरीले भारतबाट नेपाल भित्रिने हरेक सवारीसाधनलाई सतर्कताका साथ चेकजाँच गरेका थिए ।

टोलीले सवारी साधनको कागजपत्रसहित सवारी चालकको हेल्मेट, सिट, चालकको शरीर समेतको खानतलासी गरेको स्थानीयले बताए ।

प्रहरीले चेकजाँचमा कडाइ गरेपछि लागुऔषध प्रयोगकर्ताहरू रक्सौलमै लागुऔषध सेवन गरेर नेपाल भित्रिएको युवाहरूलाई फेला पारिएको चेकजाँचमा संलग्न एक सुरक्षाकर्मीले बताए । उनीहरूलाई सम्झाइबुझाई आइन्दा लागुऔषध सेवन नगर्ने सर्तमा घर पठाइएको प्रहरीले जनाएको छ । लागुऔषध प्रयोग गर्ने युवाहरू नशाकै झोकमा चोरी, हत्या लगायतका अपराधमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया