वडा अध्यक्षद्वारा मजदुरको लाखौँ रकम हिनामिना

रौतहट । जिल्लाको बौधीमाई नगरपालिका–३ मटिअर्वाका वडा अध्यक्ष मनिभुषण साहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लाखौँ रकम हिनामिना गरेको पीडितले बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित वडा अध्यक्ष साहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ५६ दिन काम गरेका मजदुरहरूको लाखौँ रकम नदिई आफँैले हिनामिना गरेको पाइएको छ ।

आफूहरूले काम गरे वापतको पाउनुपर्ने ३६ हजारको दरले ५ जनाको १ लाख ८० हजार रुपैयाँ झुक्कयाएर वडा अध्यक्ष साह आफैँले लिएको र पीडित मजदुरहरूले बताएका छन् । वडा अध्यक्ष साहले ५६ दिन काम गरे पनि एक रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् ।

आम जनता पार्टीका एक स्थानीय नेता मनोज बैठाले वडा अध्यक्ष साहले पीडित ५ जना मजदुरको ३६ हजारको दरले १ लाख ८० हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लगाएका छन् ।

बैंकबाट पीडितहरूले उक्त रकम झिकेर घर जाँदै गरेको अवस्थामा वडा अध्यक्ष साहले उनीहरूसँग ३६ हजारको दरले रकम लिएको र २१ हजार आफँै राखी १५ हजार मात्र फिर्ता दिन खोज्दा पीडितले उक्त रकम नलिएको आजपा नेता बैठाले बताए ।

५ जना कामदारको १ लाख ५ हजार रुपैयाँभन्दा बढी घोटाला गर्न खोज्दा पीडितले नमानेको र आफूहरूको ३६ हजार रुपैयाँ नै दिन माग गरेको तर वडा अध्यक्ष साहले १५ हजारको दरले मात्र दिन खोज्दा पीडितहरूले १ रुपैयाँ पनि नलिएको उनले बताए ।

३६ हजार पुरै रकम फिर्ता गर्न पीडितहरूले पटकपटक माग गर्दा पनि वडा अध्यक्ष साहले फिर्ता नगरेपछि बाध्य भएर पीडितहरू न्यायको लागि जिल्ला प्रशासन कार्यालय गौरमा वडा अध्यक्ष साहविरुद्ध निवेदन दिएको उनले बताए ।

वडा अध्यक्ष साहले मजदुरहरूको रकममा यसरी ब्रह्मलुट मच्चाउँदा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको पीडितको आरोप छ । वडा अध्यक्ष साहले यस्ता यस्ता कैयौँ शीर्षकमा लाखौँलाख भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । तर। कारबाही गर्ने निकाय मूकदर्शक बनेर बसेको छ । यस विषयमा वडा अध्यक्ष मनिभुषण साहसँग बुझ्दा टालटुले जवाफ दिँदै भेटेर जवाफ दिने भन्दै फोन काटिदिए ।

प्रतिक्रिया