पर्सामा हुन्डी कारोबार घट्यो !

पर्सा । अबैध रूपमा हुँदै आएको हुन्डी कारोवार र कारोबारी पक्राउ पर्ने क्रम घटेको छ । गत आर्थिक वर्षमा प्रहरीले पर्सा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा ६१ लाख २४ हजार ७०० नेपाली र ९८ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो । यो रकम अघिल्लो आर्थिक वर्षभन्दा हुन्डी कारोबारीबाट बरामद गरिएको कम रकम हो ।

अघिल्लो आर्थिक वर्षमा १ करोड ९३ लाख ६६ हजार ३०० रुपैयाँ हुन्डी कारोबारको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए । आर्थिक वर्ष २०७८÷०७९ का १ करोड ६५ लाख १३ हजार ६२० रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा पनि हुन्डी कारोबारी पक्राउ पर्ने संख्या नबढे पनि बरामदी रकमचाँही बढेको थियो । उक्त आवमा २२ जनालाई १ करोड ९३ लाख ६६ हजार ३०० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर गत आर्थिक वर्ष २०८०/०८१ मा पक्राउ संख्या र बरामदी रकममा धेरै अन्तरले कमी आएको देखिएको छ । उक्त आवमा ११ जना हुन्डी कारोबारीसहित ६१ लाख २४ हजार ७०० नेपाली र ९८ हजार भारतीय रुपैयाँ बरामद गरिएको डिएसपी भारतीले जानकारी दिए ।

प्रहरी तथ्यांकमा हुन्डी कारोबारको रकम बरामदी र पक्राउपर्नेको संख्यामा कमी आउनुले प्रहरीको काम कारबाहीप्रति शंका उत्पन्न भएको छ । प्रहरीले हुन्डी कारोबारलाई पुरै नियन्त्रण लिएकै कारण यसको बरामदी र पक्राउ संख्यामा कमी आएको हो कि ? वा प्रहरीकै संरक्षमा हुन्डी कारोबारी पक्राउपर्ने संख्या घटेको हो भन्ने प्रश्न पेचिलो बनेको छ ।

स्रोतका अनुसार अहिले पनि पर्सामा हुन्डी कारोबार निर्वाध रूपले सञ्चालनमा भइरहेका छन् । प्रहरीको तथ्यांकमा कारोबारी पक्राउ घटेको देखिए पनि कारोबार भने पहिलेको तुलनामा घटेको छैन । यहाँ खुलमखुल्ला हुन्डी कारोबार हुने गरेको स्रोतको दाबी छ ।
वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा दैनिक किनमेल गर्न जाने नेपाली उपभोक्ताबाट संकलन हुने नेपाली रुपैयाँ प्रायः यसरी हुन्डीको माध्यबाट नेपाल फिर्ता आउने गरेको छ ।

प्रतिक्रिया