२ महिनाभित्र संघीय निजामती ऐन पारित हुन्छ : मन्त्री गुप्ता

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विगत ८ वर्षदेखि अलपत्र परेको संघीय निजामति ऐन अबको २ महिनाभित्र पारित गरिने बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक मंगलबार गृह जिल्ला पर्सामा आइपुगेका मन्त्री गुप्ताले वीरगन्जमा नेकपा एमाले पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले मन्त्रालय सम्हालेको ८ दिन मात्रै भएको छ । यो ८ दिनमा मैले २ वटा कामलाई प्राथमिकता दिएर अगाडि बढेको छु । पहिलो काम ८ वर्षदेखि अलपत्र परेको संघीय निजामति ऐनलाई अबको २ महिनाभित्रै पास गराउनेछु । अर्को काम भनेको मन्त्रालय मातहतका कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित पार्ने हो । त्यसका लागि नियमावली बनाउने काम सुरु गरिसकेका छौँ । कम्तिमा १ वर्षभित्र कुनै पनि कर्मचारीको सरुवा नहुने गरी त्यो नियमावली बन्दै छ । यसले कर्मचारीको सरुवामा अहिले देखिएको बेथिति अन्त्य हुन्छ ।’

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्ताले माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा रहिरहन एमाले र कांग्रेसलाई पालैपालो खेलाएका कारण अहिले एमाले–कांग्रेस एक ठाउँमा आएर नयाँ समीकरणको सरकार बनाउनुपरेको बताए ।

उनले भने, ‘प्रचण्डले कहिले एमालेको बुँइ चढेर खेलाए, कहिले कांग्रेसको बुँइ चढेर खेलाए । कहिले एमालेलाई तर्साए, कहिले कांग्रेसलाई तर्साए । त्यसले देशमा राजनीतिक अराजकता बढ्यो । उनैको कारण एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक ठाउँमा आउनु परेको हो ।’

पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री गुप्ताले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारसामु धेरै चुनौती रहेको पनि बताए । देश र जनतालाई समृद्ध बनाउँदै देशमा आमूल परिवर्तन ल्याउने चुनौती अहिलेको सरकारसामु रहेको उनको भनाइ थियो ।

मन्त्री गुप्ताले भने, ‘नेपाली जनताको एक मात्र आसा र भरोसाको केन्द्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीज्यू हुनुहुन्छ । यो देशमा विगतमा विकासको गति ओलीकै सरकारले ल्याएको हो । त्यसका कारण निकट भविष्यमै जनताले देख्ने र अनूभूति गर्ने गरी यो सरकारले काम गर्छ ।’

फरक प्रसंगमा मन्त्री गुप्ताले पर्सामा एमाले पार्टीभित्र रहेका झिनामसिना मतभेदलाई बिर्सिएर एकताबद्ध भई संगठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिए । उनले भने, ‘म आफैँले पनि जिल्लाका कोही पनि नेता–कार्यकर्तासँग वैरभाव राख्दिनँ । मेरा लागि सबै बराबर हुनुहुन्छ । अहिलेको जिल्ला नेतृत्वसँग हामीसबै मिलेर काम गर्नेछौँ ।’

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल, एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, नेताहरू विचारी यादव, प्रधुमन चौहान, जयप्रकाश थारू, शिव पटेल, जिल्ला उपाध्यक्ष मनोज गुप्ता, जिल्ला सचिव महेश दास लगायतको सहभागिता थियो ।

मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पर्सामा आउने तय भएपछि मन्त्री गुप्ताले सोमबार नै आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै वीरगन्जमा मंगलबार हुने स्वागत तथा सम्मान कार्यक्रममा कसैले पनि खादा–माला लिएर नआउन अनुरोध गर्दै आफूले मन्त्रीको रूपमा राम्रो काम गरेपछि मात्रै सम्मान गर्न पार्टीका नेता–कार्यकर्तालगायत सबैमा सार्वजनिक आग्रह गरेका थिए ।

प्रतिक्रिया