रौतहट । मधेका सबै जिल्लामा रहेका शिवालयमा साउनको सोमबार दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । गुरु पूर्णिमाको भोलिपल्टै साउनको पहिलो सोमबार परेकाले मधेसभरका शिवालयमा लाखौँ मानिसले दर्शन पूजा गरेका छन् । सोमबारसँगै १ महिनाको साउने व्रत पनि सुरु भएको छ ।
पर्साको पारसनाथ मन्दिरका साथै अन्य दर्जनौँ शिवालयमा लाखौँ दर्शनार्थीले दर्शन र पूजा गरेका छन् । यसै गरी बाराको काँटघाटस्थित सहजनाथ र कलैयास्थित सहजनाथ महादेव मन्दिरका साथै अन्य दर्जनौँ शिव मन्दिरमा लाखौँले दर्शन गरेका छन् । काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा विभिन्न जिल्लाबाट हजारौँको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।
यसैगरी रौतहटको शिवनगरस्थित विश्वनाथ, नुनथर महादेव, गौरमा रहेको बानेश्वर महादेव र शिवालय मन्दिर, मौलापुरको पतौरामा रहेको पुरातात्विक महादेव, इशनाथको ईशनाथ महादेव र समनपुरमा रहेको भीमेश्वर महादेव मन्दिरमा सोमवार बिहानैदेखि दर्शनार्थी तथा श्रद्धालुहरूको भिडभाड रहेको थियो । रौतहटमा सबैभन्दा बढी भिडभाड शिवनगरस्थित विश्वनाथ महादेव मन्दिरमा देखिएको थियो ।
यसैगरी सर्लाहीको बरहथवास्थित मूर्तियामा रहेको महादेव मन्दिर, शिवनगरमा रहेको महादेव मन्दिरमा दिनभर श्रद्धालु भक्तजनको भिडभाड देखिएको छ । यसै गरी महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालुको भिडभाड देखिएको थियो । जलेश्वरनाथमा बिहानको समयमा दर्शनार्थीको भिड थाम्नै नसक्ने देखिएको थियो ।
हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबार शिव मन्दिरहरूमा निकै भिडभाड लाग्ने गरेको छ । हरेक सोमबार लाखौँ दर्शनार्थी पुग्ने गरेकाले मन्दिरहरूमा मेला लाग्ने गरेको छ । मधेस प्रदेशका हरेक जिल्लामा दर्जनौँको संख्यामा शिव मन्दिर रहेको र हरेक शिव मन्दिरमा सोमवार बिहान भिडभाड देखिने गरेको छ ।
साउन महिनाभर मधेस प्रदेशका धेरै मानिस शाकाहारी हुने गरेका छन् । शाकाहारी हुनेले हरेक दिन बिहान स्नान गरी कम्तीमा घरमै र सम्भव भएसम्म शिव मन्दिरमा दर्शन पूजा गर्ने गरेका छन् । यसै गरी साउन महिनामा नै सबैभन्दा बढी बोलबमले विभिन्न जलाशयबाट जल लिएर शिवलिंगमा अर्पण गर्ने गरेका छन् ।
अत्यधिक भिडभाड हुने मधेस प्रदेशका शिव मन्दिरहरूमा सोमबारको दिन बिहानैदेखि प्रहरी परिचालन गरिएको हुन्छ । बिहान ११ बजेसम्म शिव मन्दिर आसपासको सडकको ट्राफिक व्यवस्था पनि अस्तव्यस्त हुने गरेको छ । पर्साको पारसनाथ, बाराको सहजनाथ, रौतहटको विश्वनाथ र महोत्तरीको जलेश्वरनाथ मन्दिरका श्रद्धालुहरूले सोमबार बिहान पनि दर्शन गर्ने क्रममा केही समय लाइनमा बस्नुपरेको थियो ।
शिव मन्दिरहरूको आसपास पसलहरूमा लाखौँको कारोबार हुने गरेको छ । मधेस प्रदेशका सबै शिवालयमा गरी करोडौँको कारोबार हुने अनुमान गरिएको छ । साउन महिनाभरि धार्मिक क्षेत्रको आर्थिक कारोबारमा गतिशीलता आउने गरेको अर्थविद्हरूको विश्लेषण रहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया