दुई महिनाभित्र संघीय निजामती कर्मचारी ऐन पारित हुन्छ : मन्त्री गुप्ता

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा मंगलबार आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको दुई महिनाभित्र पारित गरिने बताएका हुन् ।

साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने मन्त्री गुप्ताले बताए ।

कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, प्रदेशसभा सदस्य बिना शर्मा, जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा, उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।

प्रतिक्रिया