जनकपुरधाम । जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा तालावन्दी गरिएका कारण विरामीलाई खुला चउरमा नै उपचार गरिएको छ । आन्तरिक विवादको कारण अचानक अस्पताल बन्द भए पनि टाढा टाढाबाट उपचारका लागि अस्पताल पुगेका बिरामीलाई चिकित्सकले चउरमै उपचार गरिरहेका छन् ।
‘हाम्रो विवादकै कारण टाढाबाट सेवा लिन आएका बिरामीलाई उपचारबाट बञ्चित गर्नु त भएन’ जानकी आँखा अस्पतालमा कार्यरत (हाल आन्दोलनरत) डाक्टर अमित यादवले भने, ‘हाकिमले नै अस्पताल बन्द गरिदिएपछि हामीले चउरबाटनै उपचारको व्यवस्था मिलाउनु परेको हो ।’
डा. यादवले सहयोगी टिमको साथ लिएर अस्पताल परिसरमै आइतबार करिब साढे तीन सय बिरामीको आँखा उपचार गरेका छन् ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश प्रसाद सिंहले दुई हप्ता अगावै आफूले राजीनामा गरिसकेको भन्दै अस्पतालको वर्तमान अवस्थासँग कुनै सरोकार नभएको गैरजिम्मेवारपूर्ण जवाफ दिउका छन् । यता, प्रहरी र प्रशासनले भने उनकै निर्देशन बमोजिम काम गर्ने चिकित्सक र कर्मचारीलाई तनाव दिने गरेको गुनासो अर्को पक्षको छ ।
अस्पतालमा दैनिक धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाको पूर्वी भागमा बस्ने जनतासँगै भारत बिहारका विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरु जानकी आँखा अस्पतालमा उपचार गराउने आउने गरेका छन् । अस्पताल सञ्चालन समितिले दुषित आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले केही चिकित्सक तथा कर्मचारीलाई कानुन विपरित धपाउन खोजेपछि अस्पतालमा विवाद चर्केको स्थानीय राजनीतिकर्मीको भनाई छ । उक्त समस्या समाधानको पहल गर्नुको साटो सञ्चालन समितिका अध्यक्ष नै गैरजिम्मेवार भइदिएपछि समस्या थप जटिल मोडमा पुगेको उनीहरुको आरोप हो ।
प्रतिक्रिया