
कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्, ‘आज हामी सुत्नु हुँदैन, झ्याल ढोका खुल्ला राखेर बस्नुपर्दछ, पहिरो आयो भने भागौँला ।’
सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएकी थिइन् । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन् ।
सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन् । अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए । भूकम्प जस्तो भयो । दुवै जना डरले कोठाबाट बाहिर निस्किए ।
राधिका डरले पल्लोघरतिर भागिन् । श्रीमान् सूवर्ण भाईको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुंगा र माटोले बनेको एक तले घर पहिराले पुरिसकेकेको थियो ।
पहिरोले कुलबहादुरसहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थियो । पहिरोमा परेर उद्धारका लागि पुगेका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिन नै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरे पनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।
‘अस्ति सानो पहिरो खसेको थियो, अब तल आउँदैन होला भन्ने भयो, आयो भने भाग्ने भनेर बसेका पनि थियौँ’, राधिकाले भनिन् । उनका अनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईँले भनेपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।
‘माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ, पहिरो आउँदैन भन्नुभयो, तर मैले लापरबाही गर्नु हुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो’, उनले भनिन् । कुलबहादुरलाई पहिरोको त्रास भए पनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन् ।
पहिरोले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिरोबाट जोगिएकी हुन् । राधिकाको सुत्ने कोठा पहिरोले पुरिएको हो । गए राति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् ।
पहिरोबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छन् । ‘जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली, कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्योँ’, राधिकाले आँखाबाट आँसु झार्दै भनिन् ।
स्थानीयका अनुसार कुलबहादुरलाई पहिरोको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिरोको त्रासमा भने बसेको थियो ।
पोखरा–१९ का वडा सदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाए पनि बास नबस्न आग्रह गरेको बताए । उनले भने, ‘पानी परिरहेको छ, पहिराको जोखिम छ, आजलाई खाना पकाएर खाए पनि रात नबस्नु हामी अर्को व्यवस्था गछौैँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो, राति ठूलो आवाज सुनेर बाहिर निस्कँदा अरुलाई पहिरोले पुरिसकेको रहेछ, छोरालाई मात्र जोगाउन सफल भयौँ ।’– रासस
प्रतिक्रिया