रौतहट । आँपलाई फलको राजा भनिन्छ । हुन त अन्य फलका पनि आआफ्नै गुण महत्व र विशेषताहरू नभएका होइनन्, तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टिकै कारण यसलाई फलको राजा भनिन्छ ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन र ! पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसँग मिसाएर खाँदा पनि सन्तुष्टि पाइन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफलगायत अन्य सामग्री मिसाएर ‘मेंगो सेक’ बनाएर समेत खाने गरिन्छ ।
तर, पछिल्लो समय व्यापारीहरूले विभिन्न रासायनिक पदार्थ (केमिकल) प्रयोग गरेर कृत्रिम रूपमा पकाएको आँप मानव स्वास्थ्यका लागि मन्द विष बन्दै गएको छ । फलको राजा आँपलाई विष बनाएर खुलेआम बिक्री गरिरहँदा पनि राज्य मूकदर्शक बनेको छ ।
फलको राजा आँपलाई अतिज्ज्वलनशील पदार्थ कार्बाइड प्रयोग गरी पलाएर मन्द विषको रूपमा बनाइरहँदा राज्य मूकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण देशका साना–ठुला प्रत्येक बजारमा समयअगावै कार्बाइड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सूर्या अस्पताल वीरगन्जका डा. सरोज सिंह हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिँगटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताउँछन् ।
विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रूपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ छ । त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगन्जका अर्का डा. अशोक दास बताउँछन् ।
‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ,’ दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँप व्यापारीहरूले केमिकल राखेर जेठ असारमै सकाइरहेका छन् । यसरी मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलबाड भइरहँदा राज्य मौन हुनु ठुलो विडम्बना भएको जानकारहरू बताउँछन् ।
आँपको इतिहास
हजारौँ वर्षअघि पूर्वोत्तर भारत, म्यान्मार र बंगलादेशमा आँपको खेती सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहिले नाम ‘आम्र–फल’ राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ का रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख वृहदारण्यक उपनिषद् र पुराणमा पनि पाइन्छ । यसमा आमको रूख काट्नुलाई निन्दाको रूपमा उल्लेख गरिएको छ ।
दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा ‘आम–काय’ राखिएको छ । जुन बोलीचालीको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम दिए । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आँपको नाम दिए । र यही रूपमा अहिले नेपालमा पनि यसको नाम छ ।
आँप र बुद्धबीचको सम्बन्ध
समय परिवर्तन हुँदै गयो, तर आँपप्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समयकालमा आँपको अझै बढी लोकप्रियता थियो । बौद्ध धर्मको उदयसँगै आँप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आँपलाई एउटा उपहारका रूपमा आदानप्रदान गर्न सुरु गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिका लागि पनि आँपको प्रयोग भइरहेको थियो । सो समयमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आँप लिएर जान्थे, सो समय आँप मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।
समृद्धिको प्रतीक आँप
प्राचीन भारतका सुरुआती लेखक–यात्री मेगस्थनिज र ह्सियुन–त्सांगले लेखेका छन्– कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आँपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सडक राजमार्गहरूको छेउमा आँपको बिरुवा लगाउँथे भनेर । यसका अलावा उनीहरूले आँपको अविश्वसनीय स्वादका बारेमा पनि लेखेका थिए, जसका कारण आँप भारतभन्दा बाहिर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासीहरू र स्वामी चक्रधरको दत्तराय सम्प्रदायले पनि यस फललाई प्राचीन भारतको जनजनसम्म पु¥याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
मुगलकालको अलाउद्दीन खिलजी आँपको पहिलो संरक्षक बने । उनले आफ्नो किल्लामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलगअलग किसिमका आँपको अलावा अरू केही पनि थिएन । यसको अलावा आँपको एउटा छुट्टै कथा छ, जुन आँपप्रति मुगलहरूको प्रेम दर्साउँछ । भनिन्छ– उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आँपको ठुलो भण्डार लगेका थिए । त्यसैगरी सो समयमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएका थिए, जसमा १ लाखभन्दा बढी आँपका रूख थिए ।
तोतापुरी, रटौल र केसरसहित महँगो जातको आँपको सुरुआत त्यहीँबाट भएको मानिन्छ । यसका अलावा प्राचीनकालमा भारतीय शासकहरूसँग जोडिएका आँपका अनेकौँ कथाले पनि यसको महत्व झल्काउँछ ।
अंग्रेजहरूले कम गरे आँपको बर्चस्व
अंग्रेजहरू भारतमा आएपछि आँपको बर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाँट पनि बिस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनउ, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक वर्ष ‘मेंगो फेस्टिभल’ मनाइन्छ ।
प्रतिक्रिया