काठमाडौँ । कुनै बेला राजनीतिक चक्रब्यूहका कारण ‘रिफर सेन्टर’ का रूपमा परिचित भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको छ । नेतृत्वको इच्छाशक्ति र परिवर्तनको हुटहुटी भएमा देशका कुनै पनि सार्वजनिक संस्थाको गरिमा बढाउन सकिने रहेछ भन्ने बलियो उदाहरण बनेको छ– भक्तपुर अस्पताल । १२० वर्षअघि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो भक्तपुर अस्पताल स्थापनाको एक शताब्दीसम्म पनि राजनीतिक र मेडिकल माफियाको चंगुलबाट निस्किन सकेको थिएन । यहाँ भ्रष्टाचार भएका कैयौँ समाचार आए, सेवा प्रवाहमा सबैभन्दा कमजोर बन्यो । आमनागरिकको भरोसा तोडिएपछि यो अस्पताल लामो समय आफैँ बिरामी अवस्थामा बस्नुपर्यो ।
तर, कोरोनाले गाँजेका बेला यो अस्पतालको कमान्ड सम्हाल्न मेडिकल डाइरेक्टर बनेर आइपुगिन्– डा. सुमित्रा गौतम । त्यसपछि भने अस्पतालले आफ्नो परिचय मात्रै फेरेन, नागरिकसामु गुमाएको आफ्नो विश्वास पनि फर्कायो । गौतमको अथक मिहिनेत र प्रयासले यो अस्पताल लगातार २ पटक देशका ७ प्रदेशमध्येकै उत्कृष्ट बन्न सफल भएको छ । यस वर्ष पनि देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पतालको ताज यही अस्पतालले पहिरिएको छ ।
भ्रष्टाचार, कमिसन र माफियाको चंगुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् यतिबेला गौतम ।
सेवा विस्तार गर्न नसक्दा, आइसियू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम अस्पताललाई पनि सवोत्कृष्ट बनाउन सकिन्छ भन्ने निर्देशक डा. गौतमले पुष्टि गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउँछन् ।
‘म २ वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा २ जना मेसु फेरिए, मैले पटक–पटक मन्त्रालय धाएर ५ शय्याको आइसियू सञ्चालनका लागि सबै सामान ल्याएँ । तर तत्कालीन मेसुले आइसियू सञ्चालन गर्न नै चाहनुभएन,’ उनले भने । अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उनको भनाइ छ ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालका रूपमा विकास गर्नुपर्ने बताउँछन् । आफू अध्यक्ष हुँदा त्यसका लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायामा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउँछन् ।
अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उनले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाका लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताए । बिरामीमा यस अस्पतालप्रति बढिरहेको विश्वास र भरोसा टुट्न नदिन सरकारले मेडिकल माफियाको चंगुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नुपर्ने उनले बताए ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गरेको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालका रूपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ ।
२०५१ सालमा क्यान्सर केयर सेन्टरका नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा. अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ साल असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गरेको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि १२० वर्ष पुरानो त्यो भवन अस्पतालकै रूपमा उपयोगमा आइरहेको छ ।
भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाका लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो ।
२०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हुँदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो । कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलो पटक अस्पतालको जिम्मेवारी सम्हाल्न सिन्धुली अस्पतालबाट सरुवा भई २०७६ मंसिर २० गते आएकी डा. सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गरिन् । कोरोना महामारीमा बिरामीलाई शय्या अभाव, न आइसियू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो । उनको पहलमा अस्पताल स्थापना भएको ११५ वर्षपछि पहिलो पटक कोरोनाकालमा आइसियू सेवा सुरु गरियो । बाग्मती प्रदेश सरकारले कोरोनाका बिरामीको उपचारका लागि भन्दै सुरुमा ६ र पछि १० शय्या थप गरी १६ शय्याको आइसियू सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसियू र एनआइसियूसहित १८८ शय्यामा सेवा विस्तार गर्दै संकटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो ।
चीनबाट पहिलो पटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो संकटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा. गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अंगका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो ।
२०७७ साउन २५ गते संघीय मन्त्रालयको निर्णयअनुसार १०९ शय्या थप गरी यो अस्पताल २०९ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसियूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो ।
कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्राम स्थललगायत संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामी र कुरुवाले ठुलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरंगतर्फ दैनिक ३०० बिरामी आउने अस्पतालमा दैनिक ८०० बिरामीको चाप पुगेको छ ।
‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्यांकनमा पहिलो पटक बाग्मती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बाग्मती प्रदेश सरकारले यस अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी १ हजार ६६९ जना (प्राविधिकसहित) कर्मचारीको संगठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब ८ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ ।
अस्पतालकी निर्देशक डा. गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घन्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछिन् । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउन्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।
अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसियू, एनआइसियूलगायत विभिन्न सेवा सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्यांकनमा पुनः ९८ दशमलव ७ प्रतिशत अंक ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको उनी बताउँछिन् ।
अस्पतालकी निर्देशक डा. गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलो पटक २०७७ मा ७४ अंक, २०७८ मा ८४ अंक ल्याउन सफल हुँदै पहिलो अस्पताल र २०८० को मूल्यांकनमा ९७ अंक र यस वर्ष ९८ अंक आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउँछिन् ।
प्रतिक्रिया