
लागुऔषध कारोबार तथा प्रयोगमा २० देखि ४० वर्ष उमेर समूह धेरै संलग्न भएको भेटिएको छ । लागुऔषधमा खैरो हेरोइन भारतबाट, कोकिन अफ्रिका र विदेशी गाँजा थाइल्यान्डबाट आउने गरेको पाइन्छ । – दुर्गाराज रेग्मी, प्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो
०००

लागुऔषध नियन्त्रणमा अमेरिका, युरोपले पर्याप्त बजेटसहित छुट्टै सुरक्षा दस्ता गठन गरेर काम गरिरहेका छन् । नेपालमा न बजेट छ, न जनशक्ति । एउटै प्रहरी गाँजा फडानीदेखी आधुनिक अपराधको अनुसन्धान र सुरक्षामा समेत खटिनुपरेको अवस्था छ । – हेमन्त मल्ल ठकुरी, पूर्वडिआइजी

काठमाडौँ । पछिल्लो समय नेपालमा लागुऔषध कारोबार र प्रयोगको अवस्था भयावह बन्दै गएको छ । नेपालमा लागुऔषध ओसारपसार, बिक्रीवितरण र प्रयोगको अवस्था दिनानुदिन भयावह बन्दै गएको सरकारी तथ्यांकले देखाएको हो । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने कारोबारी तथा प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि भएको छ । आव २०७७–७८ मा देशभर लागुऔषधसम्बन्धी कसुरमा ४ हजार ६२६ जना पक्राउ परेका थिए भने ३ हजार १३ वटा मुद्दा दर्ता भएका थिए । २०८१–८२ मा आइपुग्दा पक्राउ पर्नेको संख्या ७ हजार ९१० पुग्यो भने ५ हजार ६१ मुद्दा दर्ता भए । ५ वर्षको अन्तरालमा मुद्दा दर्तामा करिब ६८ प्रतिशत र पक्राउ पर्नेको संख्यामा करिब ७१ प्रतिशतको वृद्धि देखिएको हो ।
आव २०८२–८३ को १० महिना अर्थात् साउनदेखि वैशाखसम्म पक्राउ पर्नेको संख्या ७ हजार २९ पुगेको छ भने ४ हजार ४२० मुद्दा दर्ता भइसकेका छन् । पक्राउ पर्नेमा ६ हजार ७०५ नेपाली, ३१४ भारतीय र १२ जना विदशी नागरिक छन् । आव २०७७–७८ मा ४ हजार ६२६ जना पक्राउ पर्दा ३ हजार १३ वटा मुद्दा दर्ता भएका थिए । २०७८–७९ मा ५ हजार ७८४ पक्राउ र ३ हजार ८५६ मुद्दा, २०७९–८० मा ६ हजार १८७ पक्राउ र ४ हजार १०२ मुद्दा, २०८०–८१ मा ६ हजार ७१५ पक्राउ पर्दा ४ हजार ३९९ मुद्दा दर्ता भएका थिए ।
पछिल्लो समय प्रहरीले अनुसन्धान प्रभावकारी बनाएको र प्रयोगकर्ता तथा ओसारपसार गर्नेको संख्या पनि धेरै हुँदा लागुऔषधको कसुरमा पक्राउ पर्नेको संख्या बढेको विश्लेषकहरू बताउँछन् । धेरै जना पक्राउ परेर थोरै मुद्दा दर्ता हुनुुले संगठित अपराधकै रूपमा लागुऔषधको कारोबार बढेको विज्ञहरूको बुझाइ छ । धेरैजसो युवा साथी संगतबाट लागुऔषधको सम्पर्कमा पुग्ने गरेको पाइन्छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार नेपालका प्रायः सबै जिल्लामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ता छन् । ‘लागुऔषधको कारोबार तथा प्रयोगमा २० देखि ४० वर्ष उमेर समूह धेरै संलग्न भएको भेटिएको छ,’ रेग्मीले भने, ‘लागुऔषधमा खैरो हेरोइन भारतबाट, कोकिन अफ्रिका र विदेशी गाँजा थाइल्यान्डबाट आउने गरेको पाइन्छ ।’
लागुऔषधमा फेरिएको प्रवृत्ति र प्रकृति
सुरक्षाविद्हरूका अनुसार हरेक १० वर्षमा लागुऔषधको प्रकृति फेरिने गरेको छ । ५ वर्षअघिसम्म नेपालमा प्रतिन्धित औषधीय ट्रामाडोल न्यून मात्रामा बरामद हुन्थ्यो भने खैरो हेरोइन, गाँजा, चरेस आदि बढी थियो । तर, पछिल्लो समय ट्रामाडोल ट्याब्लेट सबैभन्दा धेरै बरामद हुने लागुऔषध बनेको छ । चालु आवको १० महिनामा मात्रै १० लाख ५४ हजार १८५ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ । पछिल्लो ३ वर्षयता मात्रै ट्रामाडोल बरामद हुँदै आएको छ । यस्तै, नाइट्राभेट ट्याब्लेट, डाइजेपाम एम्पुल, फेनार्गन एम्पुल र नुर्फिन एम्पुललगायत लागुऔषध धेरै बरामद हुने गरेको छ ।
आव २०८१–८२ मा देशभरबाट ५१ हजार ७७८ किलो गाँजा बरामद भएको छ । कोसी प्रदेशमा सबैभन्दा बढी २६ हजार ७०५ किलो र मधेस प्रदेशमा १५ हजार ७०९ किलो बरामद भएको थियो । त्यस्तै, चरेस ८२४ किलो, हेरोइन ४३ किलो, कोकिन १८ किलो र अफिम १८० किलो बरामद भएको थियो । पछिल्लो समय औषधिजन्य लागुऔषध सिरिन्ज र ट्याब्लेटका रूपमा प्रयोग हुने औषधिजन्य लागुऔषधमा डाइजेपाम ३७ हजार ४५२ एम्पुल, फेनार्गन १ लाख २२ हजार ५०५ एम्पुल र बुप्रिनोर्फिन ३२ हजार ८९१ एम्पुल बरामद भएको छ । चालु आवको १० महिनामा ४२ हजार १२४ किलो गाँजा, ४६४ किलो चरेस, १५ किलो हेरोइन, १७ किलो अफिम, ४ किलो कोकिन, ११ किलो पोलेन बरामद भएको छ । त्यस्तै, डाइजेपाम ४८ हजार ६१५ एम्पुल, फेनार्गन ४७ हजार १०० एम्पुल, बुप्रिनोर्फिन ३३ हजार ७०६ एम्पुल र अन्य ट्याब्लेट बरामद ५२ हजार ५४२ छ ।
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले प्रहरीद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद हुनु सकारात्मक उपलब्धि भए पनि यसले संगठित अपराधको बढ्दो र बदलिँदो स्वरूपलाई गरेको संकेततर्फ सोच्न नसक्नु कमजोरी भएको बताए । उनले भने, ‘वर्तमान प्रहरी नेतृत्वले लागुऔषध बरामद गर्नुलाई मात्र सफलता मानेको छ । तर, ती बरामद भएका वस्तुले देखाउने अपराधको नयाँ ट्रेन्डलाई बुझ्न र विश्लेषण गर्न सकेको छैन, न त सरकारकै ध्यान छ । अपराधको नयाँ प्रवृत्तिको बारेमा औँल्याउँदा प्रहरीले त्यसलाई आफ्नो विरोध ठान्नु हुँदैन ।’ स्रोतसाधन तथा बजेटको अभावकै बीच प्रहरीले बरामद र पक्राउमा गरेको उपलब्धिसँगै नयाँ केही डरलाग्दा ट्रेन्ड पनि देखिएको उनले बताए । लागुऔषधको ओसारपसार मात्रै धेरै हो वा प्रयोगकर्ता कति छन् ? भन्ने विश्लेषण हुन नसक्नु यो संगठित अपराधको सबैभन्दा खतरनाक विषय भएको उनले सुनाए ।
नेपालबाट गाँजा भारततर्फ जाने गरेको छ भने लाखौँ ट्याब्लेट ट्रामाडोल अन्य देशबाट नेपालमा ल्याउने क्रम बढेको छ । यो ट्याब्लेटले कति असर गर्छ, कुन उमेर समूहले बढी प्रयोग गर्छ र यसको असरले भविष्यमा पर्ने संकटबारे कसैले पनि खोजीनिती गरेको देखिँदैन । लागुऔषध प्रयोगमा पूर्ण नियन्त्रण असम्भव भए पनि घटाउन सकिने विज्ञहरू बताउँछन् । उत्पादन नियन्त्रण, माग घटाउने, ओसारपसारमा नियन्त्रण र ट्रिटमेन्ट (उपचार)का ४ क्षेत्रमा काम गर्नुपर्ने पूर्वडिआइजी मल्ल बताउँछन् । ‘अहिले ओसारपसार र उत्पादन नियन्त्रणमा प्रहरीको एक्लो प्रयास जारी छ । यतिले हुँदैन,’ उनी भन्छन्, ‘यो ४ चरणमा काम गर्न लागुऔषधसम्बन्धी नेपालमा कुनै सर्वेक्षण हुन सकेको छैन ।’
प्रतिक्रिया