टी–२० विश्वकपअघि आज नेपाल र क्यानडाबीच ‘वार्म अफ’ खेल हुने

काठमाडौं । आगामी जुनबाट अमेरिका र वेस्ट इण्डिजमा सुरू हुने टी–२० विश्वकपअघि आज नेपाल र क्यानडाबीच ‘वार्म अफ’ खेल हुने भएको छ । नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्ने भएको हो ।

उक्त खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो । त्यहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो ।

जसमा नेपाल २–१ ले विजयी भएको थियो । त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । ती दुवै अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाएको थियो । नेपाली टोलीले अमेरिकासँग मे ३० मा दोस्रो वार्मअप म्याच खेल्नेछ । नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।

समूह ‘डी’ मा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसँग जुन १६ मा खेल्ने तालिका छ । यस पटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया