हरेक नेपालीको थाप्लोमा ८२ हजार ऋण

सार्वजनिक ऋणको भारले थिचिँदै नेपाल

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार रुपैयाँ ऋणको भार थुप्रिएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकले भुक्तान गर्न बाँकी कुल सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको हो । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब ८ करोड थप भएर २३ खर्ब ९७ अर्ब पुगेको हो ।

कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव २ प्रतिशत हो । गत वैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) को २० दशमलव ७६ प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कुल २ खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा १ खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण १ खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड बराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँ बराबर भुक्तानी भएको छ ।

गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको छ । चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा सरकारले २ खर्ब ६५ अर्ब ऋण पाएको देखिन्छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत छ ।

१ दशकमै १८ खर्बले बढ्यो सार्वजनिक ऋण

पछिल्लो १ दशकमा नेपालको सार्वजनिक ऋण अस्वाभाविक रूपमा बढेको देखिन्छ । सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ मा नेपालले तिर्न बाँकी ऋण ५ खर्ब ५३ अर्ब ५० करोड रुपैयाँ बराबर थियो भने चालु आर्थिक वर्षमा यो ऋण बढेर २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको थियो ।

नेपाल सरकारको ऋणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै २ खर्ब ८६ अर्ब ५ करोड ६० लाख रुपैयाँ बराबर ऋण थपिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ३ खर्ब ३० अर्ब बराबरको बजेट व्यवस्थापन गरेको थियो । वैशाख मसान्तसम्ममा २ खर्ब २२ अर्ब बराबर भुक्तानी भएको छ ।

प्रतिक्रिया