जानकी मन्दिरलाई ट्रस्टमा लैजान पहल गर्दै छु

दीपेन्द्र साह, वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–३

प्रसिद्ध जानकी मन्दिर तपाईंकै वडामा पर्छ, यसको व्यवस्थापन कसरी भइरहेको छ ?

जनकपुरधामबासी जुन जानकी मन्दिरमाथि गौरव गर्छन् तर यहाँ मन्दिरको भजाउनेहरूले मन्दिरलाई गरिबीमै राखेको अवस्था छ । यस ठाउँको एउटा वडा अध्यक्ष भएर म भन्दै छु जानकी मन्दिरलाई केही व्यक्ति विशेषको कब्जामा राखिएको छ । मन्दिरमा विकासको नाममा १० करोडको लाइट लगाउँदा २ करोडको लगाइन्छ र ८ करोड उडाइन्छ । त्यसैगरी १२/१३ करोडको टाइल्स लगाउँदा ३ करोडको लाग्छ र बाँकी भ्रष्टाचार गरिन्छ । यो कुरा कसैसँग लुकेको छैन, सबैलाई थाहा छ तर कसैले चासो लिएको अवस्था छैन । आस्थाकै कारण जनकपुरधामबासी यति हुँदाहुँदै पनि कुनै हस्तक्षेप गरेका छैनन् । जनकपुरधामबासीको आस्थालाई बेचेर भ्रष्टाचार गरिन्छ । मन्दिरका बाबा रामतपेश्वर दास र रोशन दास दुबैको जुगलबन्दीमा सबैलाई ‘बेबकुफ’ बनाउँदै आएको देखिन्छ । दुवैको जुगलबन्दी यस्तो छ कि दुवैले एकअर्कालाई विरोध गर्छन् र दुबै एकै ठाउँमा हुन्छन् । रामनवमीको दिनमा जानकी सेनाले केही क्षणका लागि राम भगवान्को मूर्ति मन्दिर परिसरमा राख्न चाहेको थियो तर त्यसमा मन्दिरका सहायक महन्थ भनिने रोशन दासले यति परेशान गरेकी उनीहरूले आन्दोलन गर्न बाध्य भए । यसरी आन्दोलन गर्दा ३–४ दिन जेलमा राख्न लगाए, तर तिनै रोशनबाबाले जानकी नवमीको दिनमा केक काट्दा सबैले ताली बजाएका थिए । पश्चिमी सभ्यतालाई जानकी मन्दिरमा प्रवेश गराएको यस कुरालाई त्यतिकै दबाइयो । यस्तै अवस्था रह्यो भने आउने सय वर्षमा जानकी मन्दिरको वैभव आफ्नो स्थानमा रहला भन्ने कल्पना पनि गर्न सकिँदैन । त्यसैले समयमै यसलाई ट्रस्टमा लैजानुपर्ने अवस्था छ ।

तपाईंले भने अनुसारको जानकी मन्दिरको बेथितिलाई सुधार गर्न तपाईंले के पहल गर्नुभएको छ ?

यसको सुधारतर्फ म आफू निरन्तर लागेको छु । म यहाँको वडाध्यक्ष मात्रै नभएर जनकपुरधामको छोरा पनि हँु । जनकपुरधाम उपमहानगरपालिकाको बोर्डमा लगातार आवाज उठाउँदै आएको छु । अब छिट्टै नै मेयरको अगुवाईमा ५ सदस्यीय समिति बनाएर मन्दिरलाई ट्रस्टमा लग्ने प्रक्रियाको थालिनी हुनेछ । असार मसान्तमा हुने परिषद्मा यसलाई पास गरेर यसको डेलिगेसन प्रदेश सरकारकहाँ पु¥याउने र प्रदेश सरकारले मन्दिरलाई ट्रस्टमा लैजान केन्द्र सरकारसँग पहल गर्न लगाउने हाम्रो योजना छ । यदि यस कुरालाई मेयर साहेबले उठान गर्नुभएन भने असारपछि आफूले पाउने सेवा सुविधाको १ सालको रकम जम्मा गरेर ट्रस्टको लागि आन्दोलन सुरु गर्छु । यहाँका सबै सरोकारवाला, युवालगायतसँग समन्वय गरी ३ महिने आन्दोलन सुरु हुनेछ । १ महिना हस्ताक्षर अभियान, १ महिना रिले अनसन र १ महिना आमरण अनसन वा आन्दोलनको प्रक्रिया बदलेर अगाडि बढ्ने काम गर्छु ।


जनकपुरधाममा जुन हिसाबले फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो हुन सकेको छैन । यसलाई कसरी अगाडि बढाउने रणनीति छ तपाईंसँग ? तपार्इंको वडा त झन् सहरको मुटुमै पर्छ ।

फोहोर ठूलो समस्याको रूपमा रहेको छ । जुन जनप्रतिनिधि आए पनि फोहर कमाइ खाने भाँडोजस्तो भएको छ । विभिन्न ठाउँबाट आएको फोहोर र त्यसको व्यवस्थापनका आउने रकम वर्षको ९० लाख जति हुन्छ । यति हुँदाहँुदै पनि फोहोर व्यवस्थापन गर्न सकिएको छैन । यसमा नागरिकमा पनि जनचेतना जगाउनुपर्ने समय आएको छ । त्यसैगरी पार्किङको कुरा जहाँसम्म छ नगरपालिकाले सःशुल्क नै किन नहोस् त्यसको व्यवस्था हुनुपर्ने हो । यसमा मेयर पनि सकारात्मक नै हुुनुहुन्छ, छिट्टै नै यसको व्यवस्थापन हुन्छ ।

जनता र जनप्रतिनिधि बीचको सम्बन्ध कस्तो छ ? जनप्रतिनिधिको रूपमा तपार्इंले कस्तो समस्या भोग्नुपरेको छ ?

बुझाइमा केही समस्या छन् । खास गरेर विकासको काममा उपभोक्ता समिति बनाउनुपर्दा समितिमा रहेका १५–२० जना मध्ये ५–६ जना यस्ता नेता बनेर आउँछन् जुन न आफैँले काम गर्छन् न त गर्न दिन्छन् । कतिपय विकासको बाधकको रूपमा आएपछि केही समस्या हुन्छ । आममानिसको सोचाइ के छ भने सरकारी पैसा आउँछ र जनप्रतिनिधिले खाइहाल्छन् । तर, सरकारी पैसा अन्य पैसाभन्दा फरक छ, केही व्यक्तिहरू पैसा खानैका लागि विरोधहरू गर्छन् । यस्ता मानसिकता भएकाहरूले जनप्रतिनिधि र आमजनताबीच मेल गर्न दिँदैनन् । हामी पछाडि पर्नुको कारक तत्व पनि यही हो ।

तपाईंको वडामा रहेका ऐतिहासिक पोखरी र कुटीहरूलाई व्यवस्थापनका लागि के गर्दै हुनुहुन्छ ?

दुई कार्यकाल गरी म जनप्रतिनिधि भएको ७ वर्ष भएको छ । यो कार्यकाल पूरा गर्न अब ३ वर्ष बाँकी छ । यहाँका स्थानीय जनप्रतिनिधि, सांसदहरू मिलेर पोखरी र कुटीको संरक्षणका लागि कदम अगाडि नबढाए आउने पुस्ताले कुटी र पोखरी देख्न पाउने छैनन् । तपाईंलाई एउटा उदाहरण दिउँ, जनकपुरधामकै प्रसिद्ध तुलसी स्मारकको अगाडि मन्दिर नै छोप्ने गरी सटरहरू निर्माण गरिएकोे । पहिले पहिले तुलसी स्मारकको अगाडि पुगेपछि मानिसहरूको शिर निहुरिने गथ्र्यो तर अहिले चारैतिर छोपिएको छ । ५ इन्चको पर्खाल खडा गरेर भगवान्लाई त्यसभित्र राखिएको छ । पुराना मन्दिर पनि भत्काइएको छ, आसेपासे पाल्नका लागि जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले सटरको भाडा उठाउँदै आएका छन्, यसको पनि हिसाब खोज्ने कोही छैन ।

जानकी मन्दिरदेखि रामानन्द चोकको बीचमा लगभग २५ वटा कुटी छन् तर अहिले यहाँ कुटी छन् भन्ने थाहा पाउन मुस्किल छ, किनभने सबै कुटीको अगाडि सटर निर्माण गरिएको छ । पहिले कुटीहरूमा कीर्तन हुन्थ्यो तर अहिले भजन सुनिन छोडेकोले कुटी कहाँ छ भन्ने थाहा पाउन गाह्रो भएको छ । यसमा जनकपुरधामबासीको पनि गल्ती छ । पहिले कुटीहरूमा दान गरिन्थ्यो तर त्यो प्रथा पनि बन्द गरियो । त्यही कारण पनि त्यहाँका बाबाले आयआर्जनका लागि सटर निर्माण गरेका होलान् तर यसले हाम्रो सम्पदाहरू लोप हुने खतरा बढदो छ । जनकपुरधाममा काठमाडौंका मेयर बालेनको स्टाइलले काम गर्नुपर्ने अवस्था छ ।

तपाईं आफनो वडालाई नमुना बनाउन मास्टरप्लान के बनाउनुभएको छ ?

जनकपुरधामको मुटु भनिने वडा–३ मा बजार भित्रको ठूला ठूला व्यापारीहरू बस्ने ठाउँ हो । हाम्रो वडा निकै जागरुक क्षेत्र पनि हो । जनकपुरधामको सबै वडा मध्ये साफसफाइ हुने वडा मध्येमा पर्दछ । विकासको कुरा गर्दा वडाका सम्पूर्ण सडकहरूको जीर्णोद्वारका साथै जानकी मन्दिरभन्दा पनि पुरानो देवान पोखरीलाई सौन्दर्यकरण गर्न ३ करोडको बजेट निकासा भएको छ जीर्णोद्वार भएपछि जनकपुरधाममै सबैभन्दा उत्कृष्ट देखिनेछ । शिक्षा, स्वास्थ्य र खेलकुदका लागि बेग्लाबेग्लै बजेट छुट्याएको छु ।

प्रतिक्रिया