जनकपुरधाम । नेपालको जनकपुरधाममा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको महत्त्वपूर्ण स्थल हो । माता सीताको जन्मस्थल जनकपुरधाममा रहेको जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रूपमा चिनिन्छ । मुगल शैलीमा बनाइएको मिथिलाको ख्यातिप्राप्त यस मन्दिर कलाको उत्कृष्ट नमुना हो ।
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानीसमेत रहेको जनकपुरधाममा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्र पनि हो । वर्तमान जानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुमारीले सन्तान प्राप्तिको उद्देश्यले भाकल गरे अनुरूप निर्माण गराएकी हुन् । त्यतिबेलाको ९ लाख चाँदीका असर्फी खर्चेर जानकी निर्माण गराएको किंवदन्ती छ । त्यसैले यो मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ ।
मुगल शैलीमा बनाइएको जानकी मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डरअनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप गरिन्छ । भगवान् श्रीराम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन÷भदौमा झुला, फागुनमा परिक्रमालगायत महोत्सव नियमित रूपमा मनाइन्छ ।
जानकी मन्दिरमा घुम्नकै लागि पनि लाखौँको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गर्छन् । मुगल शैलीमा बनेको प्रख्यात जानकी मन्दिरलाई कलाको उत्कृष्ट नमुना र हिन्दू–कोइरी नेपाली वास्तुकलाको उदाहरणको रूपमा लिइन्छ । यो मन्दिर ३ मंजिला संरचना हो जुन पूर्ण रूपमा ढुंगा र संगमरमरले बनेको छ । यसका सबै कोठाहरू नेपालको झण्डा, रंगीन गिलास, नक्काशी (धातुकला, पत्थरकला तथा काष्ठकला) र चित्रहरू, सुन्दर ल्याटिस विन्डोज र बुर्जको साथ सजाइएको छ ।
धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहर यो मन्दिर क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो मन्दिर पनि हो । मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित रामजानकीका प्रतिमा झन्डै ७ सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ ।
विसं १४१७ मा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले रामजानकीको प्रतिमा स्थापना गरेको बताइन्छ । विसं १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा जग्गा दान दिएको लिखत प्रमाण आजसम्म पनि सुरक्षित छ ।
हिन्दू धर्मावलम्बीहरूको पवित्र र प्रख्यात तीर्थस्थल जानकी मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृत हुनका लागि प्रतिक्षारत छ । निकै महत्त्वपूर्ण मानिएको जानकी मन्दिर विश्व सम्पदा सूचिमा अहिलेसम्म नपर्नु आश्चर्यको विषय छ । यस मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने नेपाल सरकारको प्रयास जारी छ ।
ऐतिहासिक पक्ष
जनकपुरधामको ऐतिहासिकता खोज्दा त्रेता युगमा पुग्नुपर्छ, जुन हजारौँ वर्ष पुरानो इतिहास मानिन्छ । युग बदलिँदा प्रलय भई विनास हुन्छ र सृष्टिको क्रम सुरू हुने मान्यता छ । भगवान् रामचन्द्रलाई विष्णुको अवतार र जानकी मातालाई आदिशक्ति मानिन्छ । भवानीको स्वरूपमा प्राण प्रतिष्ठित त्रेता युगका मूर्तिहरू प्रलयकारी परिवर्तन हुँदा भूगर्भमा रहन पुगे ।
१७औँ शताब्दीको अन्त्यतिर सन्त शुरकिशोर दासले भूगर्भमा रहेको जानकी माताको मूर्तिलाई सिद्धत्व साधनाबाट पता लगाई उत्खनन् गरी मन्दिरमा प्रतिस्थापन गराएपछि जनकपुरको पुनःउत्थान भएको मानिन्छ । सोही कारणले सन्त शुरकिशोर दासलाई आधुनिक जनकपुरको अन्वेषक पनि भनिएको छ । आदि सन्त शुरकिशोर दासका शिष्य प्रयाग दास (दोस्रो महन्त) का समयमा ईसं १७२७ मा मकवानपुरका राजा मणिक सेनले आध्यात्मिक शक्तिबाट पत्ता लगाइएको जानकी माताको मूर्तिको दर्शन गरी पूजाआजा, पर्व जात्रा तथा सन्तको भण्डाराका लागि जग्गा गुठीका रूपमा (कुश बिर्ता) प्रदान गरेको देखिन्छ ।
मन्दिरका ११औँ महन्त रामकृष्णका पालामा सानो जानकी मन्दिर मण्डपलाई गर्भगृहमा राखी राजपुताना, हिन्दू, मैथिल र मुगल शैलीको सम्मिश्रण गरी वर्तमान मन्दिर निर्माण भएको हो । भारत टिगमगढकी रानी वृषमान कुमारीले आफ्नो आस्था र विश्वासका कारण जानकी मन्दिर बनाउने अठोट गरेको र ईसं १८९४ (विसं १९५२ माघ २८ गते) मा उनले यस मन्दिरको शिलान्यास गरेको इतिहास पाइन्छ ।
ईसं १९११ फरबरी ११ मा (विसं १९६७ माघ २८ गते) मा सो मन्दिरको निर्माण कार्य (१२ वर्षमा) सम्पन्न भई मूर्तिहरूको प्राणप्रतिष्ठा गरिएको थियो । मन्दिर पूर्ण हुँदा वृषभानु कुमारीको मृत्यु भइसकेका कारण टिकमगढकी कान्छी महारानी गणेश कुँवरीको उपस्थितिमा सीतारामका मूर्तिलाई गरगहनाले सज्जित गरी प्राणप्रतिष्ठा गरिएको थियो । सो मन्दिरको निर्माणमा ३ देखि ४ लाख ब्रिटिस महारानीका चाँदीका सिक्का खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरुमा ९ लाख रुपैयाँ संकल्प गरिएको मैथिली साहित्यहरूमा उल्लेख छ ।
मन्दिरमा सीतारामको मूर्ति प्राणप्रतिष्ठा वैदिक विधिअनुसार मण्डलधुनीका साथ बिहान ५ बजे फौज हात्ती तोपबाट बढाइँ गरिएको थियो । बढाइँका लागि दरभंगा महाराजाबाट फौज, हात्ती र तोपहरू ल्याइएको उल्लेख छ । कलाकारको अदभूत् कला पोखिएको यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना ठूला गुम्बज र बुर्जाले घेरिएको छ । ६० कोठा रहेको यस मन्दिरमा शिश महल र गर्भगृह विशेष महत्वपूर्ण छन् ।
पौराणिक कथा र महाकथाका अनुसार, राजा जनकले रामायण कालमा यहाँ शासन गरेको थिए । उनकी छोरी जानकी (सीता) र अयोध्याका राजकुमार भगवान् राम विवाह समारोहका लागि मण्डप निर्माण गरिएको थियो । विवाह मण्डप मन्दिरको रूपमा यो मण्डप जानकी मन्दिरको छेउमै छ ।
मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ । त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएकोसम्म झल्काउँछ । भुइँतलामा पुराना गहना र भेषभूषा छन् ।
जानकी मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ । मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रंगरोगन नगरिदिँदा मन्दिरको चारैतिर विभिन्न रङका रंगीचंगी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ ।
प्रतिक्रिया