जिल्लामा अस्वभाविक मृत्यु हुनेको संख्या अधिक देखिन्छ । धनुषामा यो वर्ष आर्थिक बर्षमा अस्वभाविक मृत्यु हुनेको संख्या २२९ पुगेको छ । धनुषामा चालु आवमा कर्तव्य ज्यानमा ११ मुद्दा छन् भने ५६ वटा सवारी ज्यान मुद्दा दर्ता भएका छन् । धनुषामा आत्महत्याको तथ्यांक अत्यन्तै भयावह देखिन्छ । चालु आवमा धनुषामा १०९ जनाले आत्महत्या गरेका छन्, जसमा झुन्डिने ९४ जना र विष सेवन गर्ने १५ जना छन् ।
जनकपुरधाम । धार्मिक केन्द्रको रूपमा सुपरिचित मधेस प्रदेशको राजधानी धनुषा जिल्लामा हत्या हिंसा र अस्वभाविक मृत्युका घटना अस्वभाविक रूपमा बढिरहेका छन् । कर्तव्य ज्यान, विष सेवन आत्महत्या, झुन्डिएर आत्महत्या, भवितव्य ज्यान, फुटकर ज्यान तथा सवारी दुर्घटनाजस्ता जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक हेर्दा अस्वभाविक मृत्युको ‘ग्राफ’ निकै उच्च देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको चालु आव २०८०/८१ को हालसम्मको तथ्यांकमा जिल्लामा अस्वभाविक मृत्यु हुनेको संख्या अधिक देखिन्छ । धनुषामा यो वर्ष आर्थिक बर्षमा अस्वभाविक मृत्यु हुनेको संख्या २२९ पुगेको छ । धनुषामा चालु आवमा कर्तव्य ज्यानमा ११ मुद्दा छन् भने ५६ वटा सवारी ज्यान मुद्दा दर्ता भएका छन् । धनुषामा आत्महत्याको तथ्यांक अत्यन्तै भयावह देखिन्छ । चालु आवमा धनुषामा १०९ जनाले आत्महत्या गरेका छन्, जसमा झुन्डिने ९४ जना र विष सेवन गर्ने १५ जना छन् । जिल्लामा भवितव्य ज्यान मुद्दा पनि ४५ वटा दर्ता भएका छन् । फुटकर ज्यान मुद्दा २ र सवारी ज्यानसम्बन्धी मुद्दा ६ वटा छन् । धनुषामा ज्यानसम्बन्धी कसुर मुद्दा पनि ३९ वटा र ज्यान मार्ने उद्योग मुद्दा २० वटा दर्ता भएका छन् ।
चालु आवको तथ्यांकलाई हेर्दा धनुषामा सबैभन्दा बढी अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन् । जिल्लामा यस्ता मुद्दा दर्ता बढी हुने र फस्र्यौट पनि बढी हुने गरेको देखिन्छ । जिल्लामा अहिलेसम्म २९९ मुद्दा अभद्र व्यवहारका दर्ता भएका छन् भने बैंकिङ कसुरका मुद्दाको संख्या पनि बढ्दो छ । धनुषामा चालु आवमा अहिलेसम्म बैंकिङ कसुरका १०२ मुद्दा दर्ता भइसकेका छन् ।
धनुषामा चोरी मुद्दा ५० र अपहरण तथा शरीर बन्धक मुद्दा ११ वटा दर्ता भएका छन् । त्यस्तै अपहरण तथा जबरजस्ती करणी ३, जबरजस्ती करणी १८ र जबरजस्ती करणी उद्योगमा ७ वटा मुद्दा दर्ता भएका छन् । हातहतियार खरखजाना ३, डाका १, सवारी अंगभंग १६ तथा कुटपिट अंगभंग मुद्दा ९ वटा दर्ता भएको देखिन्छ । धनुषामा नागरिकता किर्ते २, ठगी ३९, जुवा २ र खोटा चलन १ मुद्दा अहिलेसम्म आएका छन् । यसै गरी बहुविवाह मुद्दा ११ र बालविवाह मुद्दा २ दर्ता भएका छन् ।
धनुषामा दाइजोसम्बन्धी कसुर मुद्दा एउटा मात्र दर्ता भएको देखिएको छ भने लागुऔषधसम्बन्धी ४४ मुद्दा दर्ता छन् । यसैगरी आपराधिक उपद्रव ४, बाल यौन दुरुपयोग १, आत्महत्या दुरुत्साहन ३ तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दा २ दर्ता भएका छन् । नेपाल राष्ट्र बैंक २०५८ को कसुर १, बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर १ र सरकारी छाप किर्ते ठगी मुद्दा २ दर्ता भएका छन् । धनुषामा साइबर क्राइमसम्बन्धी एउटा मुद्दा दर्ता भई फस्र्यौट भइसकेको छ । त्यसैगरी कालो बजारीसम्बन्धी ३, सार्वजनिक उपद्रव १ र अनुचित लेनदेनको मुद्दा भने १३ वटा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुनषाले उपलब्ध गराएको चालु आर्थिक वर्षको विभिन्न मुद्दा दर्ता विवरणमा धनुषामा चालु आर्थिक वर्षमा अमानवीय व्यवहारका ३ घटना दर्ता भएका छन् भने आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ ।
धनुषा जिल्लामा चालु आर्थिक वर्षमा अहिलेसम्म विभिन्न शीर्षकमा ९४७ मुद्दा दर्ता भएका छन् भने ५३१ मुद्दा फस्र्यौट भइसकेका पनि छन् । धनुषामा दर्ता भएका मुद्दामध्ये ४१६ वटा फस्र्यौट हुन बाँकी रहेको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले फरार प्रतिवादी पक्राउ गर्न चालु आवमा ठूलो सफलता हासिल गरेको छ । आव २०७८/०७९ मा १८३ फरार प्रतिवादी पक्राउ गरेको धनुषा प्रहरीले आव २०७९/०८० मा ७३६ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियो । चालु आवमा हालसम्म धनुषा प्रहरीले ४१६ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।
यसै गरी धनुषा प्रहरीले आव २०७८/०६९ मा ५१ लाख ९ हजार ५९८ जरिवाना असुल गरेकोमा आव २०८९/०८० मा ७० लाख ७७ हजार ३२१ रुपैयाँ जरिवाना असुल गरेको थियो भने चालु आवमा अहिलेसम्म १ करोड ७ लाख ४२ हजार १६५ रुपैयाँ जरिवाना असुल गरिसकेको छ ।
धनुषाको सबैभन्दा ठूलो सुरक्षा चुनौती खुल्ला सिमाना – रञ्जन अवा, प्रवक्ता, जिल्ला प्रहरी कार्यालय धनुषा
जिल्लाको सबैभन्दा ठूलो सुरक्षा चुनौती के हो ? यसको सामना कसरी गरिरहनुभएको छ ?
धनुषाको सबैभन्दा ठूलो सुरक्षा चुनौती मित्रराष्ट्र भारतसितको खुल्ला सिमाना हो । यो धनुषाको मात्र नभएर अन्य जिल्लाको पनि चुनौती हुुनुपर्छ । खुल्ला सिमानाका कारण अवैध हातहतियार र लागुऔषध ओसारपसार हुन सक्ने, खराब प्रवृत्तिका मानिसहरू उता अपराध गरी यता आएर लुक्न सक्ने आदि कारणले गर्दा खुल्ला सिमाना मुख्य सुरक्षा चुनौतीको रूपमा रहेको छ । त्योसँगै सूचना प्रविधिको विश्वव्यापीकरणले निम्त्याएको चुनौती पनि थपिएको छ । अहिले साइबर अपराध पनि चुनौतीको रूपमा आइरहेको छ । धनुषा जिल्ला मधेस प्रदेशको राजधानी भएको कारणले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीजस्ता भिभिआइपी र भिआइपीहरूको सुरक्षा पनि प्रमुख विषय रहेको छ ।
जिल्लामा सबैभन्दा बढी मुद्दा के सम्बन्धी आउँछन् ?
धनुषामा धेरैजसो घटना आत्महत्याकै छ । यसलाई अपराधको रूपमा नलिने हो भने यहाँ अभद्र व्यवहारमा सबैभन्दा बढी मुद्दा दर्ता हुने गरेका छन् । सबैखाले समस्या भएका मानिसहरू अन्य निकायमा नगइकन प्रहरीमै आउनाले पनि मुद्दाको संख्या बढी देखिएको हो । जस्तै, लेनदेन, जग्गा विवाद आदि समस्याहरू पनि विवाद बढ्दै जाँदा शान्ति सुरक्षासँग जोडेर प्रहरीमै आउने गर्दछन् । जबरजस्ती करणी, कर्तव्य ज्यानजस्ता गम्भीर प्रकृतिका मुद्दाहरू पनि यहाँ आउने गरेका छन् ।
प्रदेशको राजधानी भएकै कारणले पनि थप सुरक्षा जटिलता हुन्छ ?
निश्चय पनि हुन्छ । प्रदेशको राजधानी हुने बित्तिकै यहाँ सम्पूर्ण सरकारी कार्यालयहरू, प्रदेश प्रमुख, मुख्यमन्त्री, अरू मन्त्रीहरू अनि उहाँहरू बस्ने क्वार्टरहरू, महत्त्वपूर्ण प्रतिष्ठानहरू जिल्लामा हुने नै भए । त्यस्तै विभिन्न कार्यक्रमहरू हुँदा भिआइपी र भिभिआइपीहरूको आवतजावत बढी हुन्छ । जनकपुरमा एअरपोर्ट भएकोले अन्य जिल्लामा जानको लागि भिभिआइपीहरूले धनुषाकै रुट प्रयोग गर्ने हुनाले त्यसमा थप जनशक्ति परिचालन गर्नुपर्ने अवस्था छ ।
सीमामा हुने तस्करी र वन तथा नदीजन्य दोहनको स्थिति कस्तो छ ?
नेपाल प्रहरीको प्राथमिक डिउटी भनेको शान्तिसुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धान र न्यूनीकरण गर्ने हो । भन्सार भएर हुने चोरी निकासीको लागि हेर्ने भन्सार कार्यालय छुट्टै छ । राजस्व उठाउने राजस्व कार्यालय छुट्टै छ । वनसम्बन्धी समस्या हेर्ने वन कार्यालय छँदै छ । यसरी सबै कामको प्रष्ट कार्यविभाजन कानुनले गरेको छ ।
नदीजन्य पदार्थको उत्खनन् तथा तस्करीको कुरा गर्ने हो भने यससम्बन्धी सम्पूर्ण अधिकार स्थानीयतहलाई दिइएको छ । त्योभन्दा माथिको जिल्ला समन्वय समितिलाई अनुगमनको अधिकार छ । यसमा नेपाल प्रहरीको प्रत्यक्ष भूमिका छैन, कुनै न कुनै रूपमा जोडिएको होला तर प्राथमिक डिउटी नेपाल प्रहरीको होइन । तथापि, हामी खटिएको बेलामा डिउटी गर्ने बेलामा फेला परिहालेमा छोड्नेवाला छैनौँ । कसैले काठ चोरीनिकासी गरेको फेला पार्छौं भने समातेर वनलाई बुझाउँछौँ । भन्सार चोरीनिकासी गरेको फेला परेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउँछौँ ।
नयाँ प्रहरी प्रमुखको आगमन भएपछि धनुषामा भएका मुख्य उपलब्धिहरू के के छन् ?
धनुषामा भुवनेश्वर तिवारी प्रहरी प्रमुखको रूपमा आउनुभएको एक महिना पनि पुगेको छैन । यो बीचमा जघन्य प्रकृतिका २–४ ओटा घटनाहरू पनि भएका छन् । विश्वकर्मा चोकमा चक्कु प्रहारबाट १ जना व्यक्तिको ज्यान पनि गयो, त्यसको अनुसन्धान भइरहेको छ । ४ जनालाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ । एकैदिनमा १५९ केजी गाँजा बरामद गरेका छौँ । अन्य अपराधका घटनाको अनुसन्धानमा पनि प्रहरीले सफलता पाइरहेको छ ।
धनुषाको मुख्य समस्या नागरिकताकै हो : प्रजिअ रामुराज कडरिया
जिल्लाको भौगोलिक स्थिति र सुरक्षा चुनौतीबीच के कस्तो सम्बन्ध छ ?
मधेस प्रदेश र धनुषाको पनि भारतसित खुल्ला सिमाना भएकोले गर्दा अलिकति आपराधिक गतिविधि हुने गरेको छ । आपराधिक गतिविधि गरी यताको उता भाग्ने र उताको चाहिँ यता लुक्ने गरेको चाहिँ छ । यो नै सीमा क्षेत्रको मुख्य समस्या हो ।
आगलागीका घटनाहरू धेरै भइरहेका छन्, यसका लागि केही योजना अघि सार्नुभएको छ कि ?
आगलागीका घटनाचाहिँ भइरहेका छन् । यसका लागि स्थानीयतहलाई अनुरोध गरिरहेका छौँ । प्रत्येक प्रहरीचौकीलाई निर्देशन दिएका छौँ । हामीले पनि मोनिटरिङ गरिरहेका छौँ । अर्कोतिर खानेपानीकै पनि समस्या छ । त्यसको समाधानका लागि पनि हामीले पहल गरिरहेका छौँ ।
नागरिकताको समस्या कस्तो छ ? यसलाई कसरी लिनुभएको छ ?
नागरिकताको समस्या तराईमा बढी छ । धनुषामा पनि नागरिकता समस्या छ । वर्षाैंवर्षसम्म बसोबास गरेको देखिन्छ तर नागरिकता पाउन नसकेको स्थििति छ । नागरिकता पाउन बाबुआमा दुवैको नागरिकता चाहिन्छ । कतिपयको चाहिँ बाबुको नागरिकता हुने तर आमाको नहुने, कतिपयको चाहिँ आमाको नागरिकता हुने तर बाबुको नहुने समस्या छ । आमाको नाममा नागरिकता दिने भनिएको छ तर आमाको नाममा नागरिकता दिने आधार नपुगेको अवस्था छ । नेपालमा वर्षौंवर्षदेखि बसिरहेका छन्, तिनीहरूले नागरिकता पाउनुपर्छ तर कानुनको कारणले चाहिँ नागरिकतामा समस्या छ । मुख्य समस्या भनेको यो जिल्लामा नागरिकतै हो ।
खुल्ला सिमानाबारे यहाँको धारणा कस्तो छ ?
खुल्ला सिमाना मधेस प्रदेशको आठै जिल्लामा छ । सीमामा सुरक्षा निकाय परिचालित छ । आवश्यक परे सुरक्षा समितिको बैठक बस्छौँ । सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको छ । खुल्ला सिमानाले गर्दा सुरक्षा चुनौतीचाहिँ छ तर चुनौती भने नियन्त्रणमै छ ।
प्रमुख जिल्ला अधिकारी भएर आएपछि सेवा प्रवाहमा के कस्तो सुधार गर्नुभएको छ ?
म प्रमुख जिल्ला अधिकारी भएर आएको एक महिना भयो । सबै कार्यालय प्रमुखको मिटिङ राखेर सबै कार्यालयमा सेवा प्रवाहमा सरलीकरण र सहजीकरण गर्न निर्देशन दिएको छु । म आफू पनि कोठाकोठामा गएर निरीक्षण गरेको हुन्छु । म आइसकेपछि नागरिकतामा धेरै सहज वातावरण बनाइसकेको छु । मैले सिडियो कार्यालयमा मात्र नभएर अन्य कार्यालयमा पनि हेर्नुपर्ने हुन्छ, अन्य कार्यालयमा पनि सहजीकरण हुँदै गएको मैले महसुस गरेको छु ।
जिल्लाको शान्तिसुरक्षा बारे केही भन्न चाहनुुहुन्छ ?
धनुषा जिल्लावासीलाई हामी जुनसुकै अवस्थामा पनि सुरक्षा दिन्छौँ । धनुषावासी सुरक्षित छन् र सुरक्षाका लागि आश्वस्त पार्न चाहन्छु ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया