१०३ वर्षमा बल्ल नागरिकता !

हेटौँडा । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका–७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १०३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छिन् ।

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । प्रजिअ सेढाईंले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी घरघरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको बताएका छन् ।

उनले भने, ‘१०३ वर्षसम्म सरकारबाट पाउनुपर्ने सुविधाहरूबाट प्रजा वञ्चित हुनुभएको थियो । हामीलाई उहाँबारे जानकारी आएपछि प्रक्रिया सुरु ग¥यौँ । प्रक्रिया पूरा भएपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ । अब उहाँले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउनुहुनेछ ।’

प्रजिअ सेढाईंले नागरिकता प्राप्त गर्न सक्ने अवस्था भए पनि अपांगता भएका, अशक्त, ज्येष्ठ नागरिक भएकै कारण कार्यालयसम्म आउन नसकेका नागरिकलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने क्रम जारी रहने बताए । यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा अशक्त नागरिकलाई घरमै पुगी नागरिकता प्रदान गरेको थियो ।

प्रतिक्रिया