इलाममा कांग्रेसका खड्काको अग्रता कायमै, एमालेका सुहाङको घट्यो मतान्तर

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बरर २ को जारी मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँगको मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर ४२ मा झारेका हुन् ।

४ हजार १८१ मतगणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका सुहाङले १ हजार ६०१ मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् । अहिले त्यस क्षेत्रमा मतगणना जारी छ भने आजै मत परिणाम सार्वजनिक गर्ने तयारीमा लागेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया