सडक डिभिजन कार्यालयलाई बजेटकै अभाव

जनकपुरधाम । सडक डिभिजन कार्यालय जनकपुरको वर्तमान अधिकार क्षेत्रसहितको कार्यालय स्थापना २०७१ सालमा भएको हो । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत रहेको सडक डिभिजन कार्यालय, जनकपुरले कुनै समय महोत्तरी, धनुषा, सर्लाही र सिन्धुली गरी ४ जिल्ला कार्यक्षेत्र थियो भने हाल धनुषा र महोत्तरी गरी २ जिल्ला हेर्दछ । धनुषा जिल्लाको जनकपुरस्थित मुजेलियास्थित कार्यालयबाट आफ्नो काम गर्दै आएको यस कार्यालयले गर्ने भौतिक निर्माणका काममा सधैँजसो बजेट अभाव हुने गरेको गुनासो छ ।

भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजन बजेट भएका अन्य केही रणनीतिक बाहेकका सडक तथा स्थानीय पुलहरूको समेत कार्यालयले निर्माण गर्ने गरेको छ । तर, सडक डिभिजन कार्यालयको मुख्य जिम्मेवारी निर्माण भइसकेका सडक र पुलहरूको मर्मत सम्भार रहेको कार्यालय प्रमुख डिभिजन सिनियर इन्जिनियर दीपककुमार झाको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि कार्यालयले पाएको काम र बजेटको क्षेत्रमा उल्लेखनीय प्रगति कार्यालय प्रमुख झाले बताए । कार्यालयबाट चालु आवमा ७ किमी कालोपत्रेको लक्ष्य दिइएकोमा हालसम्म २ दशमलव ७ किमी कालोपत्रे भइसकेको छ । यसै गरी २ किमी ग्राभेल गर्ने लक्ष्य दिइएकोमा अहिलेसम्म १ दशमलव २ किमी प्रगति भइसकेको कार्यालय प्रमुखझाको दाबी रहेको छ ।
त्यसैगरी मर्मत सम्भारतर्फ पर्याप्त काम भएको झाले बताए । चालु आवका लागि १२९ किमी मर्मत सम्भारको लक्ष्य रहेकोमा अहिलेसम्म १२६ किमी प्रगति भइसकेको कार्यालय प्रमुख झाको भनाइ छ ।

पुल निर्माणको अवस्था भने कमजोर रहेको देखिएको छ । चालु आवमा १६ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा पुल मात्रै निर्माणको अन्तिम चरणमा रहेका छन् । समयमै निर्माण कार्य सम्पन्न नहुनुमा मुख्य कारण बजेटको अभाव नै रहेको झाको दाबी छ ।

सडक र पुलको मर्मत तथा रेखदेखका साथै निर्माणको कार्य पनि हेरिरहेको सडक डिभिजन कार्यालयमा तोकिएको जिम्मेवारी अनुसार समयमा बजेट विनियोजन हुने हो भने सबै काम समयमै सम्पन्न गर्न सकिने कार्यालय प्रमुख झाको भनाइ छ । हाल कार्यालयमा पर्याप्त कर्मचारी रहेकोले आन्तरिक तथा प्राविधिक कामहरू सम्पन्न भइरहेको उनले बताए । कार्यालयबाट सम्पन्न गर्नुपर्ने काम सन्तोषजनक रहेको कार्यालय प्रमुख झाको भनाइ छ ।

प्रतिक्रिया