लालबन्दी । सर्लाही सदरमुकाम मलंगवामा आइतबार नेकपा एमालेको नवौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि जेठ १ गतेसम्म अधिवेशन चल्ने सो पार्टीले जनाएको छ । मलंगवा नगरपालिका–२ स्थित जिल्ला खेलकुद विकासको खेल मैदानमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अधिवेशनको उद्घाटन गरे ।
नवौँ अधिवेशनले सकभर सर्वसम्मत र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने पार्टीको जिल्ला अध्यक्ष राजनारायण साहले बताए । अधिवेशन उद्घाटनको अवसरमा विगतमा जिल्ला प्रमुखको रूपमा नेतृत्व गर्दै आएका पार्टीका दर्जन बढी नेतालाई सम्मानसमेत गरेको छ ।
जिल्ला अधिवेशनमा आयोजक कमिटी, जनसंगठन, वडाबाट चयन भएका र मनोनीतसमेत गरी ६४२ जना प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।
पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले उद्घाटन गर्ने भनेर प्रचार गरिएको अधिवेशन उनको स्वास्थ्यमा समस्या भएको भन्दै उपाध्यक्ष पौडेलले अधिवेशन उद्घाटन गरेका थिए ।
सर्लाही
प्रतिक्रिया