संविधान संशोधन नभए समाप्त हुन्छ : यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनर्लेखन वा संशोधन नभए देशमा संविधान र संवैधानिक व्यवस्था समाप्त हुने वा नयाँ क्रान्तिबाट क्रान्तिकारी संविधान निर्माण हुने बताएका छन् । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा संविधानको पुनर्लेखन वा संशोधन जरुरी रहेको उल्लेख गरे ।

अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गरेर कोही तानाशाही व्यवस्थातिर जालान् वा नयाँ क्रान्तिबाट समतामूलक समाज बनाउने गरी नयाँ संविधान बनाउने विकल्प देशमा रहेको बताए । उनले आफूहरूले संघीय गणतन्त्र, लोकतन्त्र, समावेशिता आदिलाई संस्थागत गर्दै नागरिक स्वतन्त्रताका पक्षमा संघर्ष गरिरहने प्रस्ट्याए ।

देशमा वेस्ट मिन्स्टरको नक्कल गरिएको अहिलेको संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै उनले जनताद्वारा सिधा निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताए । उनले मिश्रित निर्वाचन प्रणाली विकृतिमूलक र खर्चिलो भएकाले देशका लागि उपयुक्त नभएको जिकिर गरे । ‘गाउँदेखि संसद्को चुनावसम्म उम्मेदवारले पैसा खर्च गर्दैनन्, पैसालाई पानी जस्तो बगाउने गर्छन् । यस्तो खर्चिलो चुनाव नेपालजस्तो गरिब देशका लागि उपयुक्त छैन’, उनले भने ।

खर्चिलो चुनाव प्रणाली रहे देश भ्रष्टाचार र कुशासनको दलदलमा फस्ने औँल्याउँदै अध्यक्ष यादवले पार्टी र उम्मेद्वारलाई १ रुपैयाँ पनि खर्च नहुने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए । उनले विश्वका ७१ वटा देशमा समानुपातिक निर्वाचन प्रणाली रहेको पनि जनाए ।
संसद् पूर्ण समावेशी र सांसद सरकारमा नगई विधायिकी कार्य मात्र गर्ने खालको हुनुपर्ने भन्दै उनले सांसदको सरकारमा सहभागिता विकृति र कुशासनको बाटोमा जाने कार्य भएको टिप्पणी गरे ।

अध्यक्ष यादवले स्थानीयतहलाई लुटको राजनीतिक अखाडा वा पहलमानी गर्ने ठाउँ नबनाउन त्यसलाई दलीय राजनीतिबाट टाढा राख्नपर्ने बताए । स्थानीयतह चुनावलाई दलीय बनाए समाजको सेवा गर्ने इच्छा भएका असल, योग्य र सक्षम व्यक्ति तथा युवा राजनीतिप्रति आकर्षित हुने उनको कथन छ ।

उनले मधेस आन्दोलनको माग स्वायत्त मधेस प्रदेश भएको र त्यस विषयलाई अन्तरिम संविधानमा सुनिश्चित गरिएको स्मरण गर्दै संविधान बनाउनेहरूले ८ जिल्लामा मधेस प्रदेशलाई सीमित बनाइदिएको गुनासो गरे । उनले भने, ‘मधेस प्रदेश मेचीदेखिको महाकालीसम्मको समथर भूभाग हो । त्यसैले संविधान पुनर्लेखन वा संशोधनका माध्यमबाट त्यसलाई सुधार्नुपर्छ ।’

संविधान लेख्नेहरूले मधेसीलाई धोखा दिएका, जनजातिलाई टुक्रयाएर धोखा दिएका, महिला र दलितलाई उचित स्थान नदिएर धोखा दिएकाजस्ता आरोप पनि लगाए । उपप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउन आफूले जसपा नेपाललाई तोडेको सिन्धुलीमा बताएको र तोडेर गएकाले अध्यक्षको तानाशाहीका कारण पार्टी फुटाए भन्ने गरेको चर्चा गर्दै पार्टी फुटाउन केहीलाई किनिएको र केहीलाई मन्त्री पद दिने भनिएको नै पर्याप्त भएको आरोपसमेत लगाए ।

उनले पार्टी फुटाउनेहरूले आफू बाहिर भएका बेला आफ्नो अनुपस्थितिको लाभ उठाएर घरका सामान ताल्चा फोडेर चोरेको शैलीमा काम गरेको बताए । पार्टी फुटाएर गएकाहरूलाई जनाधार नभएका लोभीपापी, अवसरवादी, महत्वाकांक्षी, अतृप्तआत्मा आदिको संज्ञा दिए उनले । ‘जनतामा आधार नभएका लोभीपापीलाई एकठ्ठा गरेर कसैले भन्छ कि रण जितिहाले भने त्यो मधेसमा सम्भव छैन’, सम्बोधनका क्रममा उनले भने ।

उनले पार्टीको आधार मधेस भएको र मधेसमा १ लाख क्रियाशील सदस्य भएको स्थितिले भयभित भएर महाधिवेशनअघि केही व्यक्ति जे पाउँछ, त्यही लिने भन्दै पार्टी छाडेर भागेको आरोप लगाए । पार्टी फुटाएकाहरूसँग पार्टी चलाउने ल्याकत नभएको भन्दै उनले जसले स्वार्थ पूरा गर्छ त्यतातिर नै उनीहरू जाने दाबी गरे । ‘उनीहरूभित्रै कोही माओवादीमा जाने भन्छ कोही एमालेमा’, अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले पार्टी फुटाएकाहरू फोहोर कसिंगर भएको भन्दै उनीहरूको बहिर्गमनपछि पार्टी स्वच्छ र गतिशील भएर अघि बढ्ने बताए । पार्टी, देश र मधेसलाई धोखा दिने ती व्यक्तिहरूको भविष्य नरहने ठोकुवा गर्दै उनले तिनीहरूले केवल अरूको चाकडी र तारिफदारी गर्ने थपे । ‘स्वस्थ जीवनका लागि शरीरका विकार निकाल्नुपर्छ । विकार आफँै निस्किए’, अध्यक्ष यादवले भने ।

जसपा नेपाल संसद्, सडक र सरकारमा रहे सरकार तीनै ठाउँमा संघर्ष गर्ने बताउँदै अध्यक्ष यादवले संघर्षको स्वरूप भने समयसापेक्ष हुने स्पस्ट पारे । अध्यक्ष यादवले मूल्यमान्यता र आदर्शको राजनीति सकिँदै गएकाले राजनीति फोहोरी खेल बनेको र यसका खेलाडी फोहोरी बनेका बताए ।

प्रतिक्रिया