टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री एस्योरेन्सको साथ टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतको विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब सार्वजनिक गरेको जनाएको छ ।

ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आइक्युबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्नेछन् । नेपालमा टिभिएस आइक्युब र टिभिएस आइक्युब एस गरी टिभिएस आइक्युबका दुई मोडलहरू उपलब्ध हुनेछ ।

ग्राहकले २ लाख ९९ हजार ९ सयमा टिभिएस आइक्युब खरिद गर्न पाउने कम्पनीले जनाएको छ । टिभिएस आइक्युबका दुई पांग्रे सवारी साधनहरूले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ, भने वातावरणमा २३ हजार ७६२ किलो कार्बन उत्सर्जन हुन रोकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विश्वमा टिभिएस आइक्युबका करिब ३ लाख ग्राहकहरूले करिब १ दशमलव ९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन्, भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले आइक्युब इलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।

उनले भने, ‘हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एस्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आइक्युबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।’ पेट्रोलको मूल्य बढेसँगै बचत पनि बढ्ने उनको दाबी छ ।

आइक्युबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रतिवर्ष करिब ३०० लिटरले कम गर्नेछन् र कार्बन उत्सर्जनप्रति वर्ष ६ सय ९० केजीले घटाउने गुप्ताले बताए आइक्युबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा आइक्युब इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया