अशोक राईको नेतृत्वमा नयाँ दल गठन

फेरि फुट्यो उपेन्द्रको पार्टी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि एकपटक फुटेको छ । अशोक राईको नेतृत्वमा आइतबार १२ सांसदमध्ये ७ र २९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले दल विभाजन गरेर नयाँ दलको मान्यताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हुन् ।
आइतबार जसपाका वरिष्ठ नेता अशोक राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसद्मा १२ जना सांसद छन् । त्यसमध्ये ७ सांसद निर्वाचन आयोग पुगेको सांसद प्रदीप यादवले जानकारी दिएका छन् । नयाँ दलको नाम नेपाल हटाएर ‘जसपा’ मात्र राखिएको उनले बताए ।

जसपाका १२ संघीय सांसदमध्ये ७ सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका ९ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।

आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रूपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरिएको राई पक्षले दाबी गरेको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अहिले अमेरिका भ्रमणमा छन् ।

यादवको अनुपस्थितिमा राई पक्षले निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबी गरेको हो । निर्वाचन आयोगका अनुसार जसपाका सांसदहरूले दर्ता गराएको निवेदनको अध्ययन भइरहेकोे छ ।

राई नेतृत्वमा अब यस्तो हुनेछ नयाँ जसपा

अब बन्ने नयाँ जसपाको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहनेछन् भने केन्द्रीय अध्यक्षमा अशोक राई रहनेछन् । पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने ४ जना उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहनेछन् ।

त्यस्तै, महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन् ।

टुटफुटको शृंखला जसपाको पुुरानै रोग

मधेसी जनताका अधिकारमा केन्द्रित रहेर राजनीति गर्ने मधेस केन्द्रित प्रमुख दलमध्येको एक हो– जनता समाजवादी पार्टी नेपाल (जसपा) । जसपाको इतिहासलाई हेर्ने हो भने २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नाम गरेको गैरसरकारी संस्थामार्फत् उपेन्द्र यादवले राजनीतिक गतिविधि अगाडि बढाउन थाले । पछि २०६३ सालमा जारी भएको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेस विद्रोहमा समावेश भए र २०६४ सालको निर्वाचनमा ‘मधेसी जनअधिकार फोरम नेपाल’ नामको पार्टी गठन गरेर चुनावमा सहभागी भए ।

२०७२ सालमा एमालेबाट अलग भएका अशोक राईको नेतृत्वमा रहेको संघीय समाजवादी पार्टीलाई ‘मधेसी जनअधिकार फोरम नेपाल’मा मिसाएर ‘संघीय समाजवादी फोरम’ बनाइयो । फेरि २०७६ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको ‘नयाँ शक्ति पार्टी’ र ‘संघीय समाजवादी फोरम’सँग एकीकरण भयो । त्यसपछि बनेको नयाँ पार्टीको नाम समाजवादी पार्टी राखियो । अहिले भट्टराई जसपाबाट अगल छन् ।

जसपाको अर्का कडी महन्थ ठाकुर पनि हुन् । २०६४ सालमा कांग्रेस छाडेर महन्थ ठाकुरले ‘तराई–मधेस लोकतान्त्रिक पार्टी’ गठन गरे । पछि उनको त्यो पार्टी ‘राष्ट्रिय जनता पार्टी’ (राजपा)मा परिणत भयो। २०७७ सालमा महन्थ ठाकुर नेतृत्वको राजपा र समाजवादी पार्टीबीच एकीकरण भयो । पार्टीको नाम फेरेर जनता समाजवादी पार्टी (जसपा) राखियो ।

अहिले महन्थ ठाकुर यो पार्टीमा छैनन् । जसपाको संघीय परिषद् अध्यक्षमा रहेका अशोककुमार राई अहिले आफ्नो अस्तित्वको खोजीमा फरक पार्टी निर्माण गर्दै छन् भने केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा उपेन्द्र यादव अमेरिकातिर छन् । एकता र विभाजनको जाँतोमा पिसिएको जसपा २०७४ सालको निर्वाचनमा चौथो ठुलो दलका रूपमा संसद्मा प्रतिनिधित्व गथ्र्यो भने मधेस प्रदेश सरकारको नेतृत्व अहिले पनि जसपाले नै गरिरहेको छ ।


मधेसी जनताको हकअधिकार सुनिश्चित गर्ने अठोट बोकेका जसपाका नेताहरू अहिले जनताभन्दा पनि ‘पहिले आफू’ भन्ने मानसिकतामा पिल्सिएका कारण अहिले पार्टीको अस्तित्व नै धरापमा परेको छ ।

प्रतिक्रिया