प्रतिपक्षको घेरा ताेड्दै अर्थमन्त्री पुनले गरे आव २०८०–८१ को आर्थिक सर्भेक्षण पेश

काठमाडौं । प्रतिपक्षी सांसदहरूको नाराबाजीकै बिच घेरा ताेड्दै अर्थमन्त्री वर्षामान पुनले आव २०८०–०८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गरेका छन् । आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्री पुनलाई समय दिएका थिए ।

बैठकको सुरुमा प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले गृहमन्त्रीविरुद्ध छानबिन गर्नै पर्नेमा जोड दिए । ज्ञानेन्द्रले बोल्दा शान्त रहेका पतिपक्षी सांसद अर्थमन्त्रीलाई समय दिनासाथ रोष्टमतिर कुदे । अर्थमन्त्री माथि उक्लिने दाउ हेरिरहँदा दुई पक्षबीच सामान्य धकेलाधकेल भएको थियो ।

तर, अर्थमन्त्री पुन अवरोधकै बिच घेरा तोड्दै रोष्टममा पुगेर आव २०८०–०८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गरेका हुन् । अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरे ।

सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका थिए । अहिले अर्थमन्त्री पुनले आर्थिक सर्भेक्षण संसदमा पेश गरिसकेका छन् भने प्रतिपक्षको नाराबाजी भइरहेको छ ।

प्रतिक्रिया