मकवानपुरगढी–गोरखा साइकल यात्रामा ज्येष्ठ नागरिकसहित मकवानपुरे साइकल यात्री

हेटौँडा । ‘स्वास्थ्य, पर्यावरण, पर्यटनका लागि साइकल’ नारासहित मकवानपुरका १२ साइकलयात्री मकवानपुरगढीबाट गोरखा दरबारको साइकल यात्रामा निस्केका छन् ।

बिहीबार बिहान ४ ज्येष्ठ नागरिक र एक फरक क्षमताकासहित हिमालयन राइडर्स सोसाइटी मकवानपुरका साइकलयात्रीहरुलाई मकवानपुरगढी गाउँपालिका– २ का वडाध्यक्ष बखानसिं पाख्रिनले शुभकामना दिँदै बिदाई गरेका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर थालिएको साइकल यात्रा शुक्रबार गोरखा दरबार पुगेर टुंगिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिए । यात्रामा ६६ वर्षीय चेतनाथ आचार्य, ६५ वर्षका लक्ष्मीचरन श्रेष्ठ, ६४ वर्षक बुद्धिबहादुर आले मगर र ६२ वर्षका अशोक जोशी सहभागी छन् ।

यस्तै फरक क्षमताका ५७ वर्षिय सुरज लिम्बूले एक हातले गोरखासम्मको यात्रा तय गर्दैछन् । सोसाइटीका राजु थापा मगर, दुर्गाप्रसाद लामिछाने, किर्तम मानन्धर, प्रदिप थापा, केवल बानियाँ, लेखनाथ ढकाल र नवराज नेपाल सम्मिलित टोलीले आज मुगलिङसम्मको यात्रा तय गर्ने बताइएको छ ।

मकवानपुरगढीबाट निस्केको टोलीले साङ्गे छ्योइलिङ बौद्ध गुम्बामा दीप प्रज्वलन गरेको थियो । साइकलयात्रीहरुलाई चौघडा बजारबाट मगर समाज र हेटौंडाको बुद्ध चोकबाट हिमालयन राइडर्स सोसाइटीका सदस्यहरु बिदाइ गरेका थिए ।

प्रतिक्रिया