१४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बोर्डको ५८औँ बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो ।

यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदै छ । लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेश गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ । साथै, बैठकले ह्ववासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ, भने डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं नजिकिँदै गरेको लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए । निजी क्षेत्रलाईसमेत प्राथमिकता दिएर तयार पारिएको सो प्रस्ताव बोर्ड बैठकमा पेस गरिएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार त्यसमा केही परियोजनाहरू छुटेको तय थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका थिए । बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले भने, ‘प्राविधिक समितिले निर्णय गरेर सिफारिस गरेका १४८ वटा परियोजनाहरू सोकेसका लागि लिएर जान उपयुक्त छ भनेर निर्णय भएको छ ।

यसमा निजी क्षेत्र पनि खुसि देखियो ।’ सरकारले अध्यादेशमार्फत भए पनि यो सम्मेलन भन्दा पहिला यो ८÷९ वटा ऐन संशोधनका लागि प्रक्रिया थालेपछि सरकारलाई निजी क्षेत्रबाट धन्यवाद दिएको प्रवक्ता उपाध्यायले बताए ।

प्रतिक्रिया