पाँचथरमा एक तोला सुन चोरेर निल्ने युवक जेल चलान

पाँचथर । जिल्लाको फिदिम नगरपालिका– २ पल्लोटार एस गोलाइमा एक तोला सुन चोरेर निलेका सुरेन्द्र कुमार योङया जेल चलान भएका छन् । लुटपाट गर्न गएका ती चोरले सुन निलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएको चैत २८ गते फिदिम– २ स्थित विस्णुकुमारी तामाङको घरमा लुटपाट गर्न गएका सुरेन भनिने २८ वर्षीय सुरेन्द्र कुमार योङयाले एक तोला सुन निलेका हुन् । तामाङको घरमा दिउँसो ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी तत्कालै घटनास्थल पुगेर चोरलाई पक्राउ गरेको थियो । पक्राउ परेका सुरेन्द्रको साथबाट नगद १५ हजार रुपैयाँ फेला परे पनि एक तोला सुनको टिल भने भेटिएन । घरधनीले नै चोरले सुन निलेको बताएपछि सुरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले एक्स–रे गराएर हेर्दा सुन उनको पेटमै देखियो ।

याे पनि : पाँचथरमा चोरले एक तोला सुन निलेपछि एक्स–रे गरेर निकालियो

सुन पेटमै देखिएपछि उनलाई निगारानीमा राखियो र सुन निलेको ३६ घण्टापछि दिसामार्फत सुन बाहिर निकालिएको प्रहरीले जनाएको छ । चोरले निलेको उक्त सुन परीक्षणको लागि सुनचाँदी व्यवसायीलाई पठाएर सुनको मूल्यांकन गराइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुवँरले जानकारी दिए ।

गत चैत्र २८ गते भएको घटनामा संलग्न सुरेन्द्र कुमार योङ्यालाई जिल्ला अदालतले एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । तर वैशाख २३ गते (हिजो) जिल्ला अदालतको आदेश अनुसार धरौटीको रकम तिर्न नसकेपछि उनी जेल चलान भएका छन् ।

प्रतिक्रिया