सहकारीका पदाधिकारीले साँघुरो दायरा बनाई आफ्नै पदाधिकारी ठगे

रुकुम पश्चिम । रुरल डेभलपमेन्ट सेभिङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आंग बाबु राई, सचिव बिनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सञ्चालक सदस्य क्यासियर राधिका तामाङको साँघुरो ठगी समूह निर्माण गरी सर्वसाधारण तथा आफन्त र संस्थाकै पदाधिकारीलाई ठगी गरेको पाइएको छ ।

उक्त साँघुरो दायराले कुनै कारोबार नै नगरेका आफ्ना नजिकका व्यक्तिको नाममा रकम जम्मा भएको पासबुक बनाई सोही आधारमा आफ्ना पदाधिकारीलाई देखाई रकम फिर्ता गर्ने भन्दै धमाधम रकम असुली गरी रहेको खुलासा भएको छ ।

जबकी सहकारीको खाता रहेको बैंकमा कुनै रकम जम्मा नभएको र ठगी समूहको महालक्ष्मी बिकास बैंक ठमेलमा सचिव बिनोदमणि राई र सदस्य तथा क्यासियर राधिका तामाङको पति चन्द्रप्रभात राईको नाममा खाता सञ्चालन गरी कारोबार गरिरहेका छन् । थप रोचक के छ भने, क्यासियर तथा सदस्य राधिकाले बनाएको किर्तिम रकमजम्मा भएको पासबुकको रकम फिर्ता गरेको देखाई आफू बेपत्ता भएर आफ्नो ठगी धन्धामा श्रीमान चन्द्रप्रभात राईलाई सदस्यको पति भनी सञ्चालक सदस्यकै अधिकारमा जिम्मेवारी सुम्पेको तथ्य काठमाडाैं महानगरपालिकाको सहकारी विभागमा पेस भएको छ ।

‘सहकारी ऐनमा श्रीमतीको जिम्मेवारीमा स्वतः श्रीमान हुने प्रबन्ध रहेको छैन । यो सरासर गैरकानुनी तथा ठगी हो । हामिले मसिनो तवरले छानबिन गरिरहेका छौँ ।’ विभागीय प्रमुख बलराम त्रिपाठीले भने । सर्वसाधारणबाट संकलन भएको रकम अध्यक्षलगायत पदाधिकारीले तलब बुझ्ने गरेको सहकारीले सर्वसाधारणबाट उठेको बचत रकम फिर्ता नगरी सोही रकम अध्यक्ष आङबाबु राइले मासिक ३० हजारका दरले तलब भनी लिने गरेको पुष्टि भएको छ । त्यसरी नै कोषाध्यक्ष अपसरा श्रेष्ठले २० हजार र सदस्य तथा क्यासियर राधिका तामाङले मासिक १० हजारका दरले तलब सुबिधा लिएका छन् ।

एक सदस्यका अनुसार आफूलाईबाट धम्की दिँदै लाखौँ रकम असुली गरेको र कुनै लेखाजोखा तथ्ययुक्त हिसाब नदेखाएको बताए । तपाईंले सर्वसाधारणको बचत रकम किन तलब लिएर ठगी गरेको भनी प्रश्न गर्दा आफूलाईसमेत २ लाख तलब भनेर हिसाब मिलान गरेको ती सदस्यले बताए ।

दर्ता एकातिर धन्दा अर्कोतिरबाट

रुरल डेभलपमेन्ट सेभिङ वचत तथा ऋण सहकारी संस्था काठमाडौँ–२ लाजिम्पाटमा ठेगाना राखी स्थापना गरिएको छ । सहकारीले आफ्नो ठेगानामा कारोबार नगरी भूमिगत तवरले काठमाडाैं–१६ सोह्रखुट्टेस्थित मासिक ५० हजार तिरेर संस्थाका सोझा सञ्चालकलाई ठगी गरिरहेको छ ।


अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा २०७३ सालदेखि नवीकरण तथा कर चुक्ता नगरी गैरकानुनी कारोबार गरिरहेको उक्त सहकारीले कृतिम वचतकर्ता देखाई सञ्चालकलाई धम्की दिएर रकम फिर्ता गर्न भन्दै रकम उठाइरहेका छन् । गत वर्षदेखि नै उक्त विषय नियमन निकाय काठमाडौं महानगरपालिका सहकारी विभागमा समेत उजुरी दर्ता भएको विभागीय प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । संस्थाको स्वीकृत ठेगानाभन्दा भिन्न भूमिगत स्थानमा गैरकानुनी कारोबार गरी ठगी गरिरहेकोमा २०८० चैत ४ गते कामपा–१६ को वडा कार्यालयमा उजुरी परी छानबिनको क्रममा सहकारीको बास्तविक ठेगाना कामपा–२ भएको पुष्टि भएको छ । अहिले स्थापना भएको ठेगानामा कुनै कार्यालय नै नभएको तर, भूमिगत तवरले सञ्चालकलाई ठगी गर्न मासिक ५० हजार भाडामा तिर्ने गरी वडा–१६ मा कार्यलय खोली गैरकानुनी कारोबार सञ्चालन गरिरहेको पाइएको छ ।

२०७४ सम्म नाफा देखाएको संस्था नवीकरण र कर चुक्ता नै नगरी ठगी गतिविधि सञ्चालन गरेको पाइएको छ । सहकारीले आफ्नो आर्थिक लेखापरीक्षणमा २०७४ सम्म नाफा देखाई करचुक्ता गरेको छ । सोही लेखापरीक्षण महानगरपालिकामा पेस गरी अद्यावधिकसमेत भएको छ । नाफा सञ्चालक तथा सदस्यहरूलाई वितरण गरिएको छैन । उक्त नाफाको वितरणसमेत नगरी त्यसपछि संस्थाको न साधारणसभा बस्यो, न त कर चुक्ता तथा अद्यावधिकनै गरियो । क्रमशः आफन्त र संस्थाका सदस्यलाई ठगी गर्ने कार्य प्रारम्भ भयो । वचतकर्ताको कुनै रकम नउठेको बैंकमा कारोबार नभएकोबाट स्पष्ट देखिन्छ । पदाधिकारीबाट संकलन गरेको रकम जम्मागरी ठगि गर्ने छुट्टै बैंक खाता सञ्चालनसमेत गरेको पाइएको छ ।

गैर–नाफामूलक एन्जिओले समाजसेवाको आवरणमा सहकारी स्थापना गरी ठगी धन्दा सञ्चालन


अध्यक्ष आङबाबु राई नै अध्यक्ष भएको रुरल फाउन्डेसन नेपालले उक्त सहकारी सञ्चालन गरेको देखिन्छ । फाउन्डेसन संस्था दर्ता ऐन २०३४ बमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सोही कार्यालयबाट नियमन हुने कानुनी व्यवस्था रहेको छ । गैरनाफामुलक गैरसरकारी संस्थाले सहकारी सञ्चालन गरी आवरणमा ठगी गर्ने संस्थालाई प्रशासनले कारबाही गर्न सक्छ । हालसम्म उजुरी दर्ता नभएको तर लामो समयसम्म नवीकरण नगरी ठगी गतिविधि गर्नु अवाञ्छित मात्रै नभएर राज्य र समाज विरोधी गतिविधि भएकोले त्यस्तो गतिविधिविरुद्ध प्रशासनमा उजुरी दर्ता गर्न प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए ।

सहकारीको वचतबाट कमिसन र निजी कम्पनी सञ्चालन


सर्वसाधारणको सहकारीमा राखेको रकमको १ प्रतिशत कमिसन लिने गरेको तथ्यसमेत फेला परेको छ । बजारमा उठाइएको रकम निजी खातामा जम्मा गर्ने अध्यक्ष, कोषाध्यक्ष र सचिवले १ प्रतिशत कमिसनसमेत लिएर ठगीसमेत गरेका छन् । सहकारी स्थापनादेखिका निर्णय पुस्तक झिकाई छानबिन भएमा वचत रकम ठगी भएको स्पष्ट हुने एक सञ्चालक सदस्यले बताए ।

सञ्चालक समितिको सचिवले नेपाल सरकारबाट सगरमाथा हिमाल आरोहण गर्न लिएको सहयोग रकम दुरुपयोग गरी सहकारीबाटसमेत रकम लिएर अन्य शीर्षकमा हिसाब मिलान गरिएको छ । राईको ज्याकेट कारखाना सञ्चालन गर्न ३०औँ लाख रकम लिएको एक दशक भइसक्यो, तर, अहिलेसम्म ब्याज त के सावा नै फिर्ता नगरेको ती सदस्यले बताए ।

आफूलाई बारम्बार कहिले घर भाडा कहिले कर तिर्नु छ भन्दै ३५ लाख भढी रकम उठाएको समेत हालसम्म फिर्ता नगरेको गुनासोसमेत गरे उनले । अरू पीडित पदाधिकारी नियमन निकायमा गएर न्याय मागेको आफू पनि ठगिएकाले छिटै कानुनी उपचारमा जाने तयारी गरेको उनले बताए ।


कर्जा र निक्षेप बापतको ब्याज शीर्षकमा सरकारलाई तिर्नुपर्ने करसमेत चुहावट भएको छ । सहकारीले कर्जाबाट आउने ब्याजको आमदानी र निक्षेपकर्तालाई भुक्तान गर्ने ब्याजमा ६ प्रतिशत टिडिएस आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी करसमेत चुहावट भएको छ । कर तिर्ने भनी लिएको रकमले सचिवले सितापाइला पदमा कोलनीमा घर खरिदसमेत गरेको ती सदस्यले बताए । घर बहाल कर र ब्यबसाय करसमेत तिर्ने भन्दै अध्यक्ष, सचिव र कोषाध्यक्ष मिली ठगीसमेत गर्दै आएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया