सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन रिहा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुुर पुनका छोरा दिपेश पुन धरौटीमा रिहा भएका छन् । शुक्रबार उनीसँगै बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरुमध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको श्रेस्तेदार ज्ञवालीले बताए ।

अदालतले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए ।

अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ । कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिइने बताइएको छ ।

प्रतिक्रिया