आफ्नै घर बनेपछि दंग नानी भाउ विक

मुगु । मुगु जिल्ला सदरमुकामबाट रारा विमानस्थल जाँदै गर्दा मैतु भन्ने ठाउँमा सडक छेउमा रहेको एउटा टिनको कटेरो नदेख्ने कमै होलान् । त्यही छाप्रोमा बस्दै आएकी नानी भाउ विक (टुटी दिदी) को यति बेला आफ्नै पक्की घर बनेको छ । शारीरिक रूपमा अपांगता रहेकी नानी भाउको शरीरको तल्लो भाग नचल्दा यताउता हिँडडुल गर्न घिर्सिने गर्छिन् ।

बाबाले पालन पोषण गर्दै आएका उनलाई बाबाको शेषपछि कसरी जीवन जिउने होला भन्ने पिरले सधँै सताउने गरेको बताउँछिन् ।
कटेरोमा डराइडराइ असुरक्षित अवस्थामा बस्दै आएकी उनका लागि भगवान्का रूपमा छाया नेपाल नामक संस्था आइपुगेपछि उनमा खुसीको सीमा छैन । नहोस् पनि किन ? छाया नेपालले छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा नानी भाउ विककै नाममा जग्गा किनिदिएर पक्की घर पनि बनाइदिएको छ । घर मात्रै कहाँ हो र उनका लागि घरमै अपांग मैत्री शौचालय र अन्य संरचना बनाइदिँदा त झन् उनलाई दैनिक जीवन जिउन सहज भएको छ ।

गत पुस २६ गते नगरप्रमुख विष्णुकुमार भामले घर निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यास गरेको १०७ दिनपछि ३ कोठाको घर र शौचालय निर्माण सम्पन्न भएको छ । घर नहँुदा उनलाई बस्न, शौच गर्न, खानपान गर्ने लगायतका दैनिक कार्यमा समस्या थियो । सदरमुकामबाट रारा विमानस्थलतर्फ जाँदै गर्दा बाटो छेउमा कारुणिक र दर्दनाक अवस्थामा जीवन बिताइरहेकी टुटी दिदीलाई देखेपछि छाया नेपालले स्थानीय सरकार छायानाथ रारा नगरपालिकासँगको लागत साझेदारीमा घर निर्माण गरिदिएर सामान्य जीवन जिउन सहज वातावरण बनाइदिएको हो । साझेदारी बमोजिममै अपांगतामैत्री घर निर्माण गरी हस्तान्तरणसमेत गरिएको छाया नेपालका कर्णाली प्रदेश टिम लिडर मीनबहादुर रावलले बताए ।
छाया नेपालले मुगुमा स्वास्थ्य, शिक्षामा भौतिक पूर्वाधार सुधारका कार्य गर्दै आएको छ भने विपन्न, गरिब, पछाडि परेका वर्गका बालबालिकाको शिक्षामा पनि लगानी गरिरहेको छ । असहाय, अपांगता र बेसहारा रहेका व्यक्तिको लागि आवास बनाउनुका साथै जीविकोपार्जनका लागि सुहाउँदो व्यवसाय सञ्चालनमा पनि सहयोग गरिरहेको छ ।

शारीरिक अपांगता रहेको नानी भाउ कामी (टुटी दिदी)लाई पक्की घर मात्र होइन, सोही घरमा खुद्रा पसल सञ्चालन गर्न र उनका छोरालाई निजी विद्यालयमा पढाउन पनि अनुदान सहयोग गरिरहेको टिम लिडर रावलले जानकारी दिए ।

‘म जस्तो शरीर नचल्ले अरूको सहारामा चल्नुपर्ने मान्छेको आफ्नै पक्की घर होला, पसल होला अनि सन्तानलाई पढाउन सकुला भन्ने कल्पनासम्म गरेको थिइन्’, उनले भनिन्, ‘मेरो लागि छाया नेपाल र छायानाथ रारा नगरपालिका भगवान् भएर आए अहिले आफ्नै नामको जग्गा छ । पक्की घर छ । मलाई सहज हुने चर्पी छ, पसल छ, छोरोको पढाइ चलिरहेको छ ।’ नयाँ पक्की घरमा बसी खुसी हुँदै टुटी दिदीले खुसीका आँसु झार्दै भनिन् ।

छाया नेपालले १५ लाख ३० हजार ९०८ र छायानाथ रारा नगरपालिकाले २ लाख ७८ हजार ९५० गरी कुल १८ लाख ९ हजार ५८ रुपैया लागत साझेदारीमा नानी भाउ विकको पक्की घर बनाउने स्टमेट भए पनि घर बनाउँदा नगरपालिकाको श्रमदान नीतिअनुसार नगरप्रहरी, सरकारी गैरसरकारी कर्मचारी र मनकारी व्यक्तिहरूले श्रमदान गर्दा १४ लाख ९२ हजार ९७१ रुपैयाँ खर्चमा विकको घर निर्माण सम्पन्न भएको थियो ।

श्रमदानले खर्च घट्दा ३ लाख १६ हजार ८७ रुपैयाँ बचेकाले उक्त बचेको रकम विकको आवश्यकीय कामको लागि खर्च गर्ने कि जिल्लामा रहेका अन्य अपांग व्यक्तिलाई सहयोग गर्ने सरोकारवालाहरूको बैठकबाट निर्णय गरेर खर्च गरिने छाया नेपालले बताएको छ ।

प्रतिक्रिया