महोत्तरी । मिटरव्याजी समूहले जिल्लाको औरही बजारमा पत्रकारको सञ्चार सामग्री खोसेर फुटाइदिएका छन् । मिटरव्याजी पीडितको समाचार संकलन गरिरहेका शीरिष न्यूजका समाचारदाता प्रेमबाबु यदुवंशीको सञ्चार सामग्री र मोबाइल उनीहरूले फुटाइदिएका हुन् ।
नयाँपत्रिका दैनिकका महोत्तरी समाचारदाता रञ्जन भण्डारीको मोबाइलसमेत उनीहरूले नियन्त्रणमा लिएको जानकारी आएको छ । केही समय नियन्त्रणमा लिएर पत्रकार भण्डारीको मोबाइल फिर्ता दिए पनि पत्रकार यदुवंशीको मोबाइल उनीहरूले खोसेर फुटाइदिएको बताएका छन् ।
मिटरब्याज पीडितले औरही बजारमा भेला गर्दै संघर्ष समिति गठन गर्न गएका थिए । उक्त भेलालाई बिथोल्नका लागि मिटर ब्याजी समूहको साहुहरू एकजुट भएर भेला बिथोल्न खोजेको आरोप छ ।
सोहीक्रममा साहुहरूले पीडितमाथि कुटपिट, गालीगलोज गरेको आरोप छ । सो घटनाको भिडियो खिच्दै गर्दा पत्रकार यदुवंशीको सञ्चारसामग्री मोबाइल नियन्त्रणमा लिएर फुटाइदिएको उनले बताए ।
नेपाल पत्रकार महासंघ महोत्तरीका शाखा सचिव राजकरण महतोले पत्रकारको सञ्चार सामग्री फुटाउने र दुव्र्यवहार गर्ने समूहलाई कडा कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज कुमार यादवलाई फोनमार्फत घटनाको जानकारी गराइएको सचिव महतोले बताए ।
महासंघले घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ । घटनास्थलमा रहेका इन्स्पेक्टर यादवले दोषीको खोजतलास भइरहेको बताएका छन् ।
महाेत्तरी
प्रतिक्रिया