सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक दाबी पेश गर्ने समय आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको दोस्रो पटकको म्याद आज सकिँदै छ । प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रो पटक दाबी पेशका लागि दिएको समय आज साँझ ५ बजे सकिन लागेको हो ।

सत्ता गठबन्धनभित्र भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री उम्मेदवारका लागि अघि सारेको छ । तर नेकपा एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको बताइएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पात्रको विषयभन्दा पनि पार्टीको निर्देशन पर्खिरहेको बताए ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा बहुमतसहित दाबी पेश गर्न आज साँझ ५ बजेसम्मलाई समय दिएका थिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाटै दुई जना सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि निर्णय गर्न नसक्दा प्रदेश प्रमुखले पुनः वैशाख ४ गते सरकार गठनको दाबी पेश गर्न दिएको समय आज अन्तिम दिन हो ।

एउटै नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्ष र रेशम चौधरी पक्ष दुवैबाट मुख्यमन्त्रीमा दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गरेर ती दुवैको दाबी अस्वीकृत गरी पुनः दोस्रो पटक दाबी पेश गर्न दलहरुलाई समय दिएका हुन् । यसअघि मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दल सुदूरपश्चिमले पनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया