अघोषित लोडसेडिङले मर्माहत बनायो : उद्योगी

अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । उद्योगी व्यवसायीले उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले समस्या परेको बताएका छन् । नेपाल उद्योग परिसंघको २१औँ वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले उद्योगी व्यवसायीलाई थप मर्माहत बनाएको हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुखअतिथि रहेको सो कार्यक्रममा उनले भने, ‘एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमै १६ घण्टासम्म लोडसेडिङ गराइरहेको छ, यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौँ ।’ अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको उनको बताए ।

निजी क्षेत्र आत्तिएको अग्रवालको भनाइ थियो । मुलुकको अर्थतन्त्र, नेपाली निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको बताउँदै उनले सरकारले प्रोत्साहन गरे अर्थतन्त्रमा रहेको चुनौतीको पनि सामना गर्न सक्ने बताए । ‘निजी क्षेत्रलाई हौसला प्रदान गर्न आवश्यक छ’, उनले भने, ‘उद्यमी व्यवसायीलाई सम्मानपूर्ण हुनुपर्छ ।’ अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी गरिरहेको बताउँदै आगामी बजेटले स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्ने रणनीति लिनुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए ।

कानुन सुधारमा विशेष ध्यान दिन आग्रह गर्दै अग्रवालले विस्तृत अध्ययन गरेरै २४ वटा ऐन तथा नियमावली संशोधन गर्न, पाँच वटा ऐन खारेज गर्न र तीन वटा नयाँ कानुन ल्याउन सुझाव दिए पनि कार्यान्वयन नभएको बताए । उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएकाले कार्यान्वयन गर्न आग्रह गरे । अग्रवालले उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व रहेको बताउँदै उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन नसक्ने धारणा राखे ।

अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए । निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ’, उनले भने ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु ।’ अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको प्रधानमन्त्री प्रचण्डले बताए । निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको उनले स्पष्ट पारे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्रीले अर्थतन्त्रको सबलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए । ‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाईसमेत अगाडि बढाउनेछौँ ।’ अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी रहेको उनले बताए ।

प्रतिक्रिया