फूलमै बिक्यो लिचीको बोट

oplus_1026

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको लिची अहिलेसम्मकै धेरै रकममा ठेक्का लागेको छ ।

देशको सबैभन्दा ठूलो सरकारी बगैँचाको लिची यसवर्ष हालसम्मकै उच्च मूल्यमा ठेक्का लागेको हो । यसवर्ष लिची फूल फुल्दै गर्दा नै उच्च मूल्यमा ठेक्का लागेको बागवानी प्रशासनले जनायो ।

यसवर्ष २७ लाख १५ हजार रुपैयाँमा लिचीको ठेक्का लागेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए । यहाँको लिची हालसम्म २२ लाखभन्दा माथिको मूल्यमा ठेक्का लागेको थिएन । यादवका अनुसार विगतका वर्षमा उधारोमा ठेक्का लाग्दै आएको लिची यो वर्ष नगदमै ठेक्का लागेको छ ।

उचित हेरचाह, मल र सिँचाइको व्यवस्थापनका कारण बागबानीमा यसवर्ष लिचीको उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा ३५ प्रजातिका करिब ६ हजार आँप र आठ प्रजातिका ६ सय २१ वटा लिचीका बोट रहेका छन् ।

प्रतिक्रिया